देश

सडक कालोपत्रे चाँडो गर्न ध्यानाकर्षण

सडक कालोपत्रे चाँडो गर्न ध्यानाकर्षण


असार २८ । । मध्यहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्रका कामलाई चाँडो र गुणस्तरीयरुपमा गर्न ठेकेदारको ध्यानाकर्षण गराइएको छ ।

मङ्गलबार रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा दिक्तेलमा आयोजित सर्वदलीय बैठकले निर्माण सम्बद्ध ठेकेदारलाई सडक कालोपत्रका काम गुणस्तरीयरुपमा चाँडो पूरा गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

सडक कालोपत्रका काममा ठेकेदारले ढिलाइ गरिरहेको र गुणस्तर कायम गर्न नसकेको जनगुनासो आएकाले परामर्शदाता कम्पनी, दलका नेता, प्रशासन, स्थानीय लगायतसँग भएको छलफलबाट ठेकेदारलाई खबरदारी गर्ने निर्णय गरिएको रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताउनुभयो । करिब रु ७५ करोडको लागतमा सडकको साढे पाँच मिटर चौडाइमा कालोपत्र गर्नेगरी २०७१ साउनमा काम थालिएको थियो ।

हलेसी–विजुले, विजुले–हुर्लुङ तथा हुर्लुङ–दिक्तेल गरी तीन खण्डमा विभाजन गरेर कालोपत्रका काम सुरु गरिएको दिक्तेल–हलेसी सडक कालोपत्रका काम औसतमा ५० प्रतिशत मात्र पूरा भएको छ ।

तीन वर्षअघि देखि कालोपत्रको काम थालिएको उक्त सडक चाँडो सम्पन्न गर्न तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले समेत निर्देशन दिए पनि अझै पुरा हुन सकेको छैन ।

विशेष