नौ किमी चट्टान काटेर गाउँमा खानेपानी
असार - २९ । वर्षाैँदेखि खोलाको पानी खान बाध्य रुकुमको आठबिसकोट नगरपालिका–३ स्यालाखदीका (साविकको स्यालाखदी गाविस ३, ४ र ५) बासिन्दा गाउँमा खानेपानी आयोजना निर्माण भएपछि खुशी भएका छन् । खानेपानी आयोजनाको निर्माण थालिएको पाँच वर्षपछि गाउँका सबै भागमा नियमित पानी आउन थालेपछि अहिले स्थानीयवासी खुशी भएका छन् ।
एक वर्षसम्म गाउँमा एउटा पनि खानेपानीको धारा नहुँदा यहाँका बासिन्दा गाग्री डोकामा बोकेर गाउँभन्दा एकघण्टा दूरीको खोलाको पानी ल्याएर गुजारा चलाउने गरेकामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आव २०६८/६९ देखि स्यालाखदी पाटागाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत खानेपानी ल्याउने काम प्रारम्भ भएको थियोे ।
गाउँ नजिकै मुहान नभएपछि खानेपानीका लागि गाउँभन्दा करिब नौ किमी टाढाको गाउँबाट खानेपानी ल्याइएको थियो । सो आयोजनाका लागि एक करोड १६ लाख ४७ हजार खर्च भएको कार्यालय प्रमुख विकेश बधानथाचेले जानकारी दिए ।
चौबीस किमी पाइपलाइन विस्तार गरिएको खानेपानी आयोजनाबाट गाउँका २०० भन्दा बढी घरधुरीलाई खानेपानीको सुविधा भएको उपभोक्ता समितिका अध्यक्ष कर्णनाथ योगीले जानकारी दिए ।
चट्टानमात्र भएकाले अधिकांश ठाउँमा फलामको जिआई पाइपको प्रयोग गरिएको छ । धेरै वर्षदेखि गाउँमा पानी ल्याइदिनका लागि विभिन्न निकायमा हारगुहार गर्दा पनि भिरालो र निकै अप्ठेरो जमिन भएका कारण निर्माण कार्यमा कसैले पनि चासो नदिएको उनको भनाइ छ । यसअघि सो आयोजनामा तत्कालीन जिल्ला विकास समितिलगायत अन्य निकायले काम शुरु गरेर र छोडिदिएको अध्यक्ष योगीले बताए ।