मुख्य समाचार

इटहरीमा भीषण आगलागी, ६ करोड बराबरको नोक्सानी

इटहरीमा भीषण आगलागी, ६ करोड बराबरको नोक्सानी

असार ३० । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२ः३० बजेपछि भएको भीषण आगलागीमा करिब साढे ६ करोड नोक्सानी भएको छ । प्रहरीका अनुसार नोक्सानीको यो परिमाण प्रारम्भिक अनुमान मात्रै हो ।

विद्युत्को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका सबै सामग्रीसहित दोकानका अन्य सामग्रीसमेत जलेर ध्वस्त हुँदा कार्कीको मात्र ६ करोडभन्दा बढीको नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

कार्कीले सञ्चालन गरेको मार्बल टायलको दोकानसँगै रहेको विराट आयुर्वेदको पतञ्जलिको आयुर्वेद औषधि, खाद्यान्न सामग्री र दैनिक उपभोग्य वस्तुसमेत नष्ट हुँदा करिब ६० लाखभन्दा बढीको नोक्सानी भएको सञ्चालक योगेन खड्काले जानकारी दिए ।

दोकान घरमा मानिस नबस्ने र दोकान घरको सुरक्षार्थ रहेका कर्मचारी घर बाहिरै रहने गरेकाले आगलागी हुनासाथ तत्काल बारुणयन्त्र, प्रहरी र स्थानीयवासीलाई हल्ला गरेर उठाएका कारण मानवीय नोक्सानी भने नभएको बताइएको छ ।

राधाकृष्ण पेट्रोल पम्पसँगै एक घर पूर्वपट्टिको घरमा लागेको आगोलाई इटहरी, धरान, विराटनगर र इनरुवाबाट आएका बारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीको सक्रियतामा आज बिहान ४ बजेतिर आगो नियन्त्रणमा आएको थियो ।

 

विशेष