नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय परामर्श संयन्त्र गठन
असार ३० । नेपाल र अष्ट्रेलियाबीच आपसी चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदानका साथै द्विपक्षीय हितका सम्बन्धमा सहकार्य गर्न संस्थागत संरचना स्थापना भएको छ ।
नेपाल र अष्ट्रेलियाबीच परराष्ट्र मन्त्रालयस्तरमा आज उक्त संयन्त्र स्थापना भएको हो ।
परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा अष्ट्रेलियाको राजधानी क्यानबेरामा आज आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र त्यहाँका कायममुकायम परराष्ट्रसचिव ग्यारी क्विनलानले हस्ताक्षर गरे ।
त्यस अवसरमा सचिव बैरागीले नेपालको वर्तमान राजनीतिक, सामाजिक तथा आर्थिक स्थितिबारे जानकारी गराउँदै संविधान जारी भएपछि स्थानीय तहको निर्वाचनले तल्लो तहसम्म अधिकार हस्तान्तरण भएको र त्यसबाट महिला, आदिवासी तथा जनजातिको प्रतिनिधित्व गराउन सफल भएको अवगत गराएकाे क्यानबेरास्थित नेपाली राजदूतावासले जनाएको छ ।
साथै उनले राजनीतिक स्थायित्वसँगै नेपालमा विकास तथा लगानीका नयाँ अवसर सिर्जना भएकाले अवसरको सदुपयोग गर्न अष्ट्रेलियाली लगानीकर्ता र व्यापारिक समुदायलाई आग्रह गरे ।
कामु सचिव क्विनलानले भूकम्पपछिको पुनःनिर्माणबारे जिज्ञासा राख्दै नेपालसँग व्यापार तथा लगानी अभिवृद्धि गर्न अष्ट्रेलिया सधैँ सकारात्मक रहेको बताए । संयन्त्रको बैठक हरेक दुई वर्षमा आलोपालो गरी हुनेछ ।
Nepal Australia