खेल

चीनमा ७५ हजार र जापानमा ७४ हजार विस्थापित

चीनमा ७५ हजार र जापानमा ७४ हजार विस्थापित

 

असार - ३० । भीषण वर्षापछि आएको बाढीपहिरोमा परी चीनमा ७५ हजार जना र जापानमा ७४ हजार जना विस्थापित भएका छन् । 

उत्तरी चीनको जिलिन प्रदेश अन्तर्गत पर्ने योङजी जिल्लामा बाढी पहिरोका कारण ७५ सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् भने ७५ हजार बासिन्दा विस्थापित भएका छन् । 

मुसलधारे वर्षा गत बिहीबार बिहान ९ बजेतिर सुरु भएको स्थानीय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ । बिहीबारदेखि शुक्रबार मध्याह्नसम्म औसत १७५.४ मिलिमिटर वर्षा भएको अधिकारीहरुले बताएका छन् । 

बाढी प्रभावित क्षेत्रमा यातायात, विद्युत, ग्यास, खानेपानीलगायतका अत्यावश्यक सेवाहरु पनि अवरुद्ध भएका छन् । बाढीका कारण ७५ हजार जना विस्थापित भए पनि दुई लाख ६० हजारभन्दा बढी प्रभावित भएका छन् । 

त्यसैगरी जापानको मध्य भागमा पर्ने एइची र गिफु प्रदेशमा शुक्रबार आएको बाढीपहिरोका कारण झण्डै ७४ हजार जना विस्थापित भएका छन् 

स्थानीय सरकारी अधिकारीहरुले विस्थापित सबै जनाको घर सम्पत्तिमा ठूलो क्षति पुगेको जानकारी दिएका छन् । जापानको मौसम विज्ञान विभागले शुक्रबार बिहान झण्डै १२० मिलिमिटरको दरले वर्षा भएको जनाएको छ । 

एइची प्रान्तको इनुयामा र कोमाकीमा ठूलो वर्षा मापन गरिएपछि इनुयामा नागरपालिकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ भाग्न शुक्रबार बिहान आह्वान गरेको थियो । 

एइची र गिफुका अलिअलि बाँकी रहेका झण्डै तीन हजार पाँच सय घरमा पनि यातायात सेवा, विद्युत सेवालगायतका सेवाहरु अवरुद्ध भएका छन् । अधिकारीहरुले शुक्रबार दिउँसोसम्म कुनै मानवीय क्षतिको खबर नआएको बताएका छन् । 

विशेष