मुख्य समाचार

बेनी र अन्नपूर्णको बजेट सार्वजनिक

बेनी र अन्नपूर्णको बजेट सार्वजनिक

असार ३१ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाले आव २०७४/७५ का लागि विनियोजित बजेट शुक्रबार सार्वजनिक गरेका छन् ।

बेनीमा आयोजित प्रथम नगरसभामा उपप्रमुख सञ्जु बरुवालले रु ३७ करोड ७८ लाख ८६ हजार बजेट विनियोजन भएको जानकारी दिए  चालुतर्फ रु २२ करोड ३० लाख ८६ हजार र पूँजीगततर्फ रु १५ करोड ४८ लाख विनियोजन भएको छ ।

नगर प्रमुख हरिकुमार श्रेष्ठले बेनीदेखि दशवटै वडासम्म पक्की सडक, आधारभूत खानेपानी सुविधा, फोहर विस्थापनस्थल निर्माण, विपद् व्यवस्थापन, कृषि, पर्यटन, व्यापार प्रवद्र्धन, कला, संस्कृति र ऐतिहासिकस्थलको संरक्षणमा जोड दिइएको बताए ।

एकीकृत सम्पत्ति कर लागू गर्ने नीतिगत निर्णय गरेको नगरपालिकाले व्यवसाय, घरभाडा र सवारी करका लागि लगत संकलन गर्ने भएको छ । ‘एक वडा एक उत्पादन’, रावण उद्यान निर्माण र ‘एक घर एक बिरुवा’ कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

नगरपालिकामार्फत सञ्चालन हुने पूर्वाधार योजनामा १५ प्रतिशत नगद र १५ प्रतिशत श्रमदान सहभागिता अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी जलविद्युत्मैत्री वातावरण निर्माण, पर्यटन र कृषिसम्बन्धी योजना तथा कार्यक्रमलाई प्राथमिकता दिएको अन्नपूर्ण गाउँपालिकाले आगामी आवका लागि रु २३ करोड २९ लाख ६२ हजार बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले केन्द्र सरकारले वित्तीय समानीकरणमा रु १४ करोड चार लाख र सशर्त अनुदानतर्फ रु आठ करोड २१ लख ९३ हजार अनुदान उपलब्ध गराउने, रु ४४ लाख ६५ हजार आन्तरिक आय र रु दश लाख जनसहभागिताबाट जुटाइने जानकारी गराए ।

प्रत्येक वडामा सुत्केरी तथा गर्भवतीको सहयोगका लागि रु ५० हजारका दरले आकस्मिक कोष स्थापना गरिने छ । प्राविधिक विषय अध्ययन गर्ने दलित विद्यार्थीलाई शुल्कमा ५० प्रतिशत अनुदान र ८० वर्षभन्दा माथिका नागरिकलाई चाडपर्व मनाउन वार्षिक रु पाँच हजार उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकामा आठ वटा वडा छन् । जलविद्युत्, पर्यटन र कृषिको विकासमार्फत गाउँपालिकालाई समृद्ध र विकसित बनाउने परिकल्पनासहित योजना, नीति तथा कार्यक्रम र सोअनुसार बजेट ल्याइएको अध्यक्ष डमबहादुर पुनले बताए ।

Budget

विशेष