समाज

'दोलखा घटनाका अभियुक्त जोगाउन न्यायिक बाटो अवरुद्ध गर्ने काम भएको छ'

'दोलखा घटनाका अभियुक्त जोगाउन न्यायिक बाटो अवरुद्ध गर्ने काम भएको छ'

साउन - २ । दोलखाबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का तीनजना सांसदले सरकारी तहबाटै न्यायको स्वतन्त्र निरुपण हुन नदिई न्यायिक बाटो अवरुद्ध गर्ने काम भएको भनी आपत्ति पकट गरेका छन् ।

दोलखाको गौरीशङ्कर–२ जुगुमा वैशाख २६ गते भएको घटनाका अभियुक्त जोगाउन राज्यपक्षबाटै अनेकौं जालझेल भइरहेको आरोप लगाउँदै उनहरुले त्यसप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताए।

सिँहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सांसद पशुपति चौंलागार्इं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले महान्यायाधीवक्ताबाट आफ्नो आस्था निकट रहेको अभियुक्त भएकै कारण पूर्वाग्रह राखी पीडितलाई न्याय पाउनबाट वञ्चित गर्ने काम भएको आरोप लगाए ।

उक्त घटनामा स्थानीय कुलबहादुर तामाङको मृत्यु भएको थियो । पत्रकार सम्मेलनमा साँसद चौलागार्इंले घटनामा संलग्न आपराधिक जत्थालाई कानूनको कठघराबाट उम्काउने तथा फरारलाई तदारुकताका साथ पक्राउ गर्न ध्यान नदिएको भनी सरकारको आलोचना गरे ।

जिल्ला अदालतबाट भएको फैसला गैरकानूनी भएको, प्रमाणको सही मूल्याँकन नभएको र आर्थिक चलखेल भएको आशंकामा पीडित परिवारले न्याय परिषद्मा छानबिनका लागि निवेदन दिएको बताउँदै उनले महान्यायाधिवक्ताले त्यो घटनासम्बन्धी फाइल मगाइ अड्काई राखेको भनी टिप्पणी गरे ।

अर्का सांसद पोखरेलले महान्यायाधिवक्ताबाट मुद्दा नचलाउने र ढिला गर्ने भएको प्रतिक्रिया दिए । सांसद पार्वत गुरुङले हत्याजस्तो फौज्दारी मुद्दामा सरकारी वकिल स्वयम्ले अग्रसरता दिएर मुद्दा अघि बढाउनुपर्नेमा महान्यायाधीवक्ताबाटै न्याय मार्ने गम्भीर षड्यन्त्र भएको आरोप लगाए ।

उनले भने, – “स्वतन्त्र सुनुवाइमा राज्यले हस्तक्षेप नगरोस् र मुद्दा दर्ता गर्ने काममा विलम्ब नहोस् भनी सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ ।'' उनीहरुले अभियुक्तलाई थुनामा राखेर कारबाही चलाउन तथा फरार अभियुक्तलाई यथाशीघ्र पक्राउ गरी अदालतमा बुझाउन माग पनि गरेका छन् ।

विशेष