साउने संक्रान्तिमा साहित्यको भेल
साउन ३ । शताब्दी साहित्य प्रतिष्ठान ,सामुदायिक कार्यकर्ता समाज नेपाल र लघुकथा कुनोको संयुक्त आयोजनामा भेटघाट, रचनाबाचन र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय कविता प्रतियोगिता २०७३ मा प्रथम र तृतीय स्थान हासिल गर्न सफल कबिहरु चन्द्र राहहाछा, उर्मिला कोइराला ,अमृता स्मृति र दिपेन्द्र उपाध्यायलाइ सम्मान गरिएको थियो । छन्द कवितामा एकछत्र राज गर्न सफल युवापुस्ताका कवि सुदेश सत्याल र आफ्ना चोटिला गद्य कविताले अहिलेका पाठकको मन छुन सफल कवि प्रज्वल प्रज्वल अधिकारीलाइ सम्मान गरिएको थियो ।
पुरस्कृत र अन्य कविता ,लघुकथा, कथा मुक्तक, गजल, गीतहरूले कार्यक्रम छुट्टै स्वाद र रौनक थपिएको थियो । उक्त कार्यक्रममा बिभिन्न किशीमका रचनाहरू वाचन गरिएको थियो , जसले गर्दा साहित्यको फाँट फराकिलो भएको महशुस हुन्थ्यो ।
शताब्दी साहित्य प्रतिष्ठानकी अध्यक्ष अन्जना पौडेलले संचालन गरेको उक्त कार्यक्रमको स्वागत सामुदायिक कार्यकर्ता समाज नेपालकी उपाध्यक्ष गीता अधिकारीले गरिन् । सामुदायिक कार्यकर्ता समाजले समाजका विविध क्षेत्रमा सहयोग गरेको जानकारी गराउँदै समाजकी अध्यक्ष सावित्री शर्माले साहित्यकारहरूलाइ आगामी दिनमा पनि हौसला प्रदान गरिरहने बताइन् ।
लघुकथा कुनोका संस्थापक नारायण तिवारीले लघुकथाको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा समालोचकिय टिप्पणी प्रा.डा हरिहर भण्डारीले गरे । शताब्दी साहित्य प्रतिष्ठानकी उपाध्यक्ष रन्जु दाहालले संस्थाको परिचय ,कार्यहरू र भावी योजना बारे प्रकाश पारेकी थिइन् । कार्यक्रममा माथि उल्लेख गरिएका नाम बाहेक अनिता रेग्मी यात्री,भवानी अधिकारी, हिरा परियार, प्रभा सुनाम, चन्द्रबदना घिमीरे, रत्न कोजु, किसोर लिम्वु, कात्यायान, प्रमोर प्याकुर्याल आदिका रचनाहरूले साहित्यिक माहोललाइ छोड्नै मन नलाग्ने बनाइदिएको थियो ।