सहरका मेयरहरुले कसरी बनाउलान् ‘स्मार्ट सिटी !’
साउन ३ । स्थानीय तहको निर्वाचनमा सायदै कुनै नगरमा कुनै उम्मेदवारले ‘स्मार्ट सिटी’को सपना बाँड्न छुटाए । धेरैले त स्मार्ट सिटी भन्ने थाहा नपाइ पनि आफ्नो प्रतिबद्धतामा नगरलाई ‘स्मार्ट सिटी’ बनाइने छ भनेर उल्लेख गरे । नयाँ बनेका कतिपय नगरहरु यस्ता पनि छन् जहाँ एउटा पनि एटिएम मेसिन छैन । डेविट कार्ड वा क्रेडिट कार्डबाट सामान किन्ने चलन त काठमाडौंमै पनि धेरै छैन । स्मार्ट सिटी वा स्मार्ट जीवन शैली सुरु हुँदै गर्दा सबैभन्दा पहिले सुरु हुने विषयहरु यस्तै हुन् ।
गोजीमा एटिएम कार्ड राख्नु, हातमा एन्ड्रोइड फोन बोक्नु, हाम्रो बजार डट कममा पुराना सामान खोज्न सक्नु मात्रै स्मार्ट सिटी हुँदैन । सूचना प्रविधिको उच्चतम प्रयोग गरेर सहरको विकासमा एकीकृत गर्ने एक अवधारणा स्मार्ट सिटी हो । यसमा नगरभित्रका सबै विद्यालय, पुस्तकालय, यातायात प्रणाली, अस्पतालहरु, ऊर्जा उत्पादन गर्ने गृहहरु, खानेपानी वितरण प्रणाली, फोहोर व्यवस्थापन लगायत अन्य सार्वजनिक सेवाहरु सबै डिजिटल प्रणालीमा हुनु पर्छ ।
मानौं काठमाडौंमा एक बिरामीका लागि आइसियू कक्ष चाहिएको छ । अब त्यो कक्ष कुन अस्पतालमा छ भन्ने कुरा कसरी खोज्ने ? यससम्बन्धी सबै विवरण हरेक अस्पतालले इन्टरनेटमा अद्यावधिक गरेर त्यसलाई इन्टरनेटमा राख्ने हो भने मात्रै सेवाग्राहीले खोज्न सक्छ । यसो गर्न कम्तिमा पनि सबै अस्पतालको विवरण, त्यहाको बेड संख्या आदि हरपल अद्यावधिक गरिनु पर्छ ।
हाम्रो देशका सरकारी अस्पतालले अतिआवश्यक औषधिको मौज्दात त छैन भनेर सूचना टाँस्छन् भने यस्ता विवरण अनलाईनमा दूरुस्त राखेर काम गर्लान ? स्मार्ट सिटी बनाउने योजना खासमा स्थानीय तहका प्रमुखले ल्याउने कार्यक्रम नै होइन । किनभने अस्पताल, खानेपानी, कलजे विद्यालय आदिलाई निर्देशन दिने ल्याकत नगरको प्रमुखले राख्दैन । तर मेयर भएपछि त त्यो क्षेत्रको राजा नै हुने हो, मेयरले भनेपछि सबै रातारात भइहाल्छ झैं गरी स्मार्ट सिटी भन्दै हल्ला गरियो ।
सूचना प्रविधिमा भारत निक्कै अगाडि छ । अमेरिकाको माइक्रोसफ्ट कम्पनीमा काम गर्ने भारतीयहरुले एकैपटक जागिर छाड्ने हो भने त्यो कम्पनी नै धराशयी हुन्छ भन्ने गरिन्छ । कम्प्युटरको सफ्टवेअर निर्माणमा पनि भारतीयहरु उत्तीकै अब्बल छन् । तर त्यही भारतमा आजसम्म कुनै सहरले पनि स्मार्ट सिटीको मान्यता पाएको छैन ।
भारत सरकारले १ सय वटा सहरलाई स्मार्ट सिटी बनाउने योजना अगाडि सारेको छ । त्यो कहिले पूरा हुन्छ थाहा छैन । भारतमा स्मार्ट सिटी छैन भन्दैमा नेपालमा पनि असम्भव हुने त होइन । तर यसका व्यवहारिक कठीनाइ यस्ता छन् कि त्यो बुझ्दै नबुझी भौतिक पूर्वाधार नाम मात्रै भएका नयाँ नगरका मेयरहरुले पनि स्मार्ट सिटीको कुरा गरेर जनता झुक्याए ।
त्रिभूवन विश्वविद्यालयमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधिका उपप्राध्यापक तेजबहादुर शाही भन्छन्, ‘हरेकले स्मार्ट सिटी बनाउँछु भन्नु भनेको बिना योजना काठमाडौंमा रेल चलाउँछु भने जस्तो भयो ।’ उनले थपे, ‘पहिलो कुरा त नगरमा सबै भौतिक सुविधा राम्रो हुनु पर्छ, त्यसपछि त्यो सुविधालाई सूचना प्रविधिमा अन्तरसम्बन्धित गर्नु पर्छ । अस्पताल छैन, सडक छैन, रेल छैन तर अगाडि नै टिकट बेच्न खोजेर हुन्छ र ? यसकारण पहिले भौतिक पूर्वाधार बन्नु पर्छ ।’