पूर्वमन्त्रीकी यी गायिका पत्नी भन्छिन्, ‘भागेर अन्तर्जातीय विवाह गरियो, गाउँ निकाला चाहिँ हुनु परेन’ (भिडियोसहित)
साउन ३ । गायिका मेनुका राईले हालसम्म तीनवटा स्वर एल्बम र तीन सय बढी गीत गाइसकेकी छन् । नेपाली सांगीतिक आकाशलाई २० वर्षदेखि नियाल्दासमेत यी गायिकालाई ‘मार्क’ गर्ने कमै मात्र छन् । उनीपछिका गायक गायिकाले थोरै गीत गाएर पनि तहल्का मच्चाइरहेका बेला गायिका मेनुका राईको नाम भने जनजिब्रोमा खासै झुन्डिन सकेको देखिँदैन । उनका गीतहरु कर्णप्रिय छन्, स्वरमा मिठास झल्किन्छ । तर पनि उनका गीतहरु हिट छैनन् ।
२०५६ सालमा रेडियो नेपालमा गीत गाएर गीत संगीतको क्षेत्रमा हामफालेकी यी गायिकालाई आफू चर्चित हुन नसकेकोमा खासै दुखित पनि छैनन् । चाहे लोक होस् चाहे आधुनिक, जुनसुकै खालको गीत गाउन सक्ने क्षमता छ उनीमा । आफूले गाएको गीतमा न्याय गर्ने क्षमता राख्छन् उनी ।
गायिका मेनुका राई गीत संगीतको क्षेत्रमा अहिले पनि अत्यन्तै व्यस्त छिन् । स्टेज शोमा पनि उनलाई भ्याई नभ्याई नै छ । गीत संगीतका अलावा सामाजिक कार्यमा पनि उनी त्यति नै सक्रिय छिन् ।
सधै हाँसिरहने स्वभावकी यी गायिकालाई हामीले गीत संगीतका साथै उनका नितान्त पारिवारिक विषयलाई बाहिर ल्याउने जमर्काे गरेका छौं । उनको सांगीतिक भन्दा पनि व्यक्तिगत जीवन अत्यन्तै चाखलाग्दो छ ।
गीत रेकर्डिङ र स्टेज सोमा सक्रिय गायिका मेनुका राई चार महिनाअघि भने फरक भूमिकामा देखिइन् । करिब करिब दुई महिना उनी गीत संगीतभन्दा टाढा रहन पुगिन् । गीत संगीतलाई अति नै माया गर्ने राई यसरी टाढिनुको मुख्य कारण हो, श्रीमान मन्त्रीमा नियुक्त हुनु । उनका श्रीमान परशुराम तामाङ राजनीतिमा अति नै सक्रिय छन् । उमेरले राई भन्दा ११ महिना जेठा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध छन् । यसअघिको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तामाङ संस्कृति, पर्यटन तथा राज्यमन्त्री बन्न सफल भएका थिए ।
तर बधाइ र शुभकामना पनि लिन नपाउँदै उनी मन्त्रीबाट हट्नु प-यो । राज्यमन्त्री भएको ५५ दिनमै तामाङ पार्टी नीतिका कारण सरकारबाट बाहिरिनु प-यो
।
यो अवधिमा मेनुका राई श्रीमान परशुराम तामाङका हरेक कार्यक्रममा सक्रिय सहभागी बनिन् । क्याम्पस पढ्दा सुरुमा एमाले र एमालेबाटै चोइटिएको मालेको सांगीतिक फाँटमा आबद्ध भएर काम गरिन् । ‘मन्त्रीकी श्रीमती हुन पाउँदा कस्तो लाग्योे ?’ हाम्रो जिज्ञासामा उनले भनिन्, ‘धेरै खुशी लाग्यो नि । तर, जिम्मेवारी सम्झेर मनमा डर पनि उत्तिकै हुने रहेछ ।’
कम्युनिस्ट पार्टीकी यी कार्यकर्ताले रोजिन् पञ्चहरुको पार्टी भनेर चिनिने राप्रपाका नेता÷कार्यकर्ता तामाङलाई जीवनसाथीको रुपमा । नेपाली समाजमा केटा र केटी बोले पनि नराम्रो नजरले हेरिने समयमा उनले भागेर विवाह गरिन् । त्यो पनि अन्तरजातीय । मंगोलियनभित्र पनि अन्तरजातीय ? उनीमाथि प्रश्न गरियो । मंगोलियन भित्र पनि भिन्नै थर हुने र विशेषगरी तामाङको आफ्नै फूपु या मामाको छोराछोरीसँगमात्र विवाह हुने चलन भएको उनले बताइन् । तामाङहरुले विशेषगरी परम्पराअनुसार फुपुको छोराले मामाको छोरीसँग विवाह गर्नुपर्ने हुन्छ, अरुसँग विवाह गर्दा गाउँ निकालासम्म पनि हुन्थ्यो । राई र तामाङ, मंगोलियनभित्र पनि अरु थरहरु हुन्छन् । मेनुका र उनका पति दुवैजना घरका जेठा सन्तान थिए ।
मेनुकाका परिवारले धेरै समयसम्म पनि स्वीकार गरेनन् । तर, समयले सबै कुरा ठिक बनाउछ भनेजस्तै उनको जीवनमा पनि त्यस्तै भयो ।
हामीले उनको पे्रमप्रसंगबारे रामै्रसँग जान्न चाह्यौं । उनले पनि खुलेरै कुरा गरिन् । ‘कलेज पढ्दै गर्दा एक्कासी कसैको चिठी आयो, साथीले चिठी आयो भनिन् । तर, मलाई कसैको चिठी आएको छ भन्नेबारे विश्वास थिएन । विश्वास होस् पनि कसरी ? मलाई त्यतिबेलासम्म कसैको पनि चिठी आउने गरेको थिएन । विश्वास गर्नै पर्ने भएपछि चिठी खोलेर हेरेँ । चिठी उनैको थियो, जोसँग मैले पछि भागेर विवाह गरेँ ।’
हुलाकमा चिठी साटासाट हुन थालेपछि दुईबीच माया बस्यो । जीवनमा आएको त्यो पहिलो चिठी संगालेर जाने इच्छा थियो उनको । त्यतिबेला बानेश्वरको संगम चोकमा काका काकीसँगै बस्दै आएकी थिइन् उनी । काकाको डरले चिठी लुकाउन धेरै प्रयास गरिन् । तर सकिनन् । साह्रै डर लागेपछि संगालेर राखेको मायाको चिठी च्यातेर फाल्नु परेको घटना उनले चाहेर पनि बिर्सन सकेकी छैनन् ।
पे्रममा पर्दा उनका श्रीमान तामाङ गाविस सचिव थिए । अहिले उनी सांसद छन् । हामीले फेरी अर्काे प्रश्न तेस्र्यायौं, नेपालमा गीत गाएर जीवन धान्न सकिन्छ ? यो प्रश्न उनको लागि भारी नै थियो । किनभने वास्ताविकताले कहिलेकाहीँ निराशाजनक पनि बनाउँछ । उनको अर्थमा पनि नाम कम चलेका गायक गायिकाहरुको लागि गाह्रो नै छ । अझ थप्दै उनले भनिन्, ‘घाँटी हेरेर हाड निल्ने हो, बढी माहत्वकांक्षी हुनाले पनि विफल भइन्छ । सन्तुष्ट हुनुपर्छ ।’
नेपाली लोकगायनको क्षेत्रमा लोकगायिका ज्योति मगरको बोल्ने शैलीलाई उनले खुलेरै तारिफ गरिन् । ज्योतिलाई गाली गर्ने जमात बढी भएको ठाउँमा उनको धारणा फरक थियो । ‘जसले जति नराम्रो भने पनि मानिसहरु बाहिर गाली गरेर भित्र भित्र भने ज्योतिलाई चाहन्छन्,’ उनले भनिन्, ‘विरोध गर्ने हो भने खुलेर गर्नुप¥यो, होइन भने पछाडिमात्र विरोध गर्नु उचित हुँदैन ।’ केही सल्लाह सुझाव पनि दिँदै उनले भनिन्, ‘समारोहमा कपडा लगाउने शैली सुधार्नुपर्छ जस्तो लाग्छ ।’
यसैगरी कुनै समयकी चर्चित गायिका सिन्धु मल्ल पनि अहिले गुमनामजस्तै छिन् । तीज आउने वित्तिकै उनलाई सम्झिने जमात पनि उत्तिकै छ । सिन्धु मल्ललाई पनि पनि आफ्ना सुझाव दिँदै उनले भनिन्, ‘यति राम्रो स्वर भएको मान्छे यसरी हराउन पाइँदैन । दर्शकहरुको मायालाई बुझेर सक्रिय रहिदिनु होला ।’
चर्चित गायिका कोमल वलीले अहिलेसम्म पनि विवाह नगरेपनि उनले कोमल वलीको ब्वाईफ्रेन्ड हुनसक्ने धारणा राखिन् ।
menuka rai lok geet singer