समाज

देउता 'खुसी पार्न' छाउगोठ, 'मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ'

देउता 'खुसी पार्न' छाउगोठ, 'मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ'

साउन ३ । अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो । हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो । सुनसान घर । कोही कसैसँग बोल्दैनन् । आँगनमा केही नयाँ मान्छे देखेपछि देर्जुकुमारी शाहीले मुन्टो तन्काउन खोज्नुभो । दुई महिलाले समातेर उहाँलाई कौसीसम्म ल्याए ।

कपाल मुन्डन गरेका छोरा प्रेमबहादुरले छाउगोठमा सर्पले डसेर मृत्यु भएकी बहिनीको घटना सुनाइरहँदा देर्जुकुमारी मुख छोपेर सुँक्सुकाइरिहन दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६, लैनचौरकी २३ वर्षीया तुल्सी शाहीको नौ दिनअघि छाउगोठमै सर्पले टोकेर मृत्यु भएयता देर्जुका आँखा ओभाएका छैनन् ।

जेठ ८ गते यही गाउँकी अर्की किशोरीको पनि छाउगोठमै मृत्यु भएको थियो । १४ वर्षीया लालसरा विकले छाउगोठमै सर्पले टोक्दा जीवन त्याग्नुपरेको थियो । तर, यो कुरा बाहिर आएन । तालिमको सिलसिलामा त्यहाँ पुगेका महिला विकास कार्यालयका कर्मचारीले थाहा पाएपछि मुस्किलले लालसराको मृत्युको घटना बाहिर आयो । लालसराको समाचार बन्न नपाउँदै तुल्सीको पनि त्यसैगरी छाउगोठमै ज्यान गयो ।

दुई महिनाको अवधिमा दुई किशोरी गुमाइसकेको यो गाउँमा अझै पनि महिनावारी छाउ भएका महिलालाई अमानवीय व्यवहार गरिन्छ । तुल्सीको छाउगोठमै मृत्यु भएको नवौँ रातको १२ बजे गाउँकै एक माध्यमिक विद्यालयका प्रधानाध्यापक धु्रवनाथ योगीको घरमा केही मानिस अत्तालिँदै आए । उनीहरू मोटरसाइकल माग्दै थिए । गाउँमै मोटरसाइकल भएको घर योगीको मात्रै हो । अर्की एक किशोरीलाई सर्पले टोक्यो भनेर अत्तालिएका गाउँलेलाई योगीले मोटरसाइकल दिएर पठाउनुभयो ।

तर, बुझ्दै जाँदा १४ वर्षीया ती किशोरीको गालामा किराले टोकेको रहेछ । बिहान पुग्दा चिसो भुइँमा दुईवटा बोरा ओछ्याएर घरमुनिको छाउगोठमा उहाँ रुन्चे अनुहारमा बसिरहनुभएको थियो ।

गैरसरकारी संस्थाले गाउँका छाउगोठ मात्रै भत्काए, गाउँलेको सोच भत्काउन सकेनन् । अहिले गाउँमा सबैको घरमा छाइछुइ उस्तै छ । चाहे शिक्षित होस् वा अशिक्षित । करोडौं खर्चिएर विभिन्न गैरसरकारी संस्थाले दैलेखमा साविकका आठवटा गाविसलाई छाउपडीमुक्त घोषणा गरेका थिए । तर, अवस्था अहिले पनि उस्तै छ । त्यो बेला पुलिस पनि साथ थियो, एनजिओको पैसा थियो, कैयौं छाउगोठ अभियन्ताले नै भत्काए । तर, अभियानका बेला गाउँका छाउगोठ मात्रै भत्किए, गाउँलेको सोच भत्किन सकेन । अहिले गाउँमा सबैको घरमा छाइछुइ उस्तै छ । चाहे शिक्षित होस् वा अशिक्षित ।

दैलेखका धेरैजसो छाउप्रथा भएका गाउँमा अहिले छुट्टै छाउगोठ छैनन् । तर, प्रत्येक घरमा अहिले पनि महिला रजस्वला भएपछि गाई र भैंसीसँगै सुत्न बाध्य छन् । छाउ भएका महिला गाईभैसीसँगै सुत्छन् तर उनीहरूले त्यसको दूध–दही खान पाउँदैनन् । गाउँले भन्छन्, देउता रिसाउँछन्, घरमा नराम्रो हुन्छ ।

अन्नपूर्ण

विशेष