स्वास्थ्य

श्राद्धको प्रसाद खाँदा ५० जना विरामी, १० जनाको अवस्था चिन्ताजनक

श्राद्धको प्रसाद खाँदा ५० जना विरामी, १० जनाको अवस्था चिन्ताजनक

साउन - ४। नुवाकोटको बेल्कोटगढी नगरपालिका–५ पिप्लेमा श्राद्धको प्रसाद खादाँ सिङ्गो गाँउ ५० जना बिरामी भएका छन् । बिरामी भएका मध्ये सिकिस्त बिरामी दश जनालाई उपचारको लागी काठमाडौँ लागिएको छ ।

पिप्लेका भोजबहादुर आले मगरको घरमा साउन १ गते श्राद्धको प्रसाद खाएपछि बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने समस्याले सिकिस्त भएपछि दुई परिवारका दश जनालाई आज बिहान एम्बुलेन्स मार्फत काठमाडौँ लागिएको स्थानीय कृष्णप्रसाद लामिछानेले जानकारी दिए । बिरामी भएका मध्ये धुव्रबहादुर लामा र कृष्णप्रसाद लामिछानेको परिवार छन् । बिरामी भएका २८ वर्षीय लामा उनको आमा ५२ वर्षीया शन्तमाया, श्रीमती २५ वर्षीया सुशीला र छोरा ५ वर्षीय शौरबको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

यस्तै, ४० वर्षीया लामिछाने सहित उनको श्रीमती ३८ वर्षीया प्रेमकुमारी छोरीहरु १६ वर्षीया सबिना र १२ वर्षिया बिना, १४ वर्षीय छोरा सन्तोषको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । बिरामी भएका मध्ये शिक्षण अस्पतालमा उपचाररत् बालक शौरब लामा र टेकुमा उपचाररत सन्तोष लामिछानेको अवस्था चिन्ताजनक छ । श्राद्धको प्रसाद खाएर बिरामी भएका उनीहरुको स्थानीय स्वास्थ्य सँस्थामा नै उपचार गर्दै आएपनि अबस्था सुधार नभएपछि अस्पताल पठाइएको वडा नं. ५ का वडाध्यक्ष अनन्त नेपालले जानकारी दिए ।

बिरामी भएर गाँउमा नै रहेकाहरुको उपचारको लागि स्वास्थ्य कार्यालय नुवाकोटका जनस्वास्थ्य अधिकृत राममणी घिमिरेसहितको स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको छ । गाँउमा रहेका ४० जनाको उपचार भइरहेको र उनीहरुको अबस्था सामान्य हुदै आएको जनस्वास्थ्य अधिकृत घिमिरेले जानकारी दिए ।

उनका अनुसार श्राद्धमा वितरण गरिएको अचार र सेलरोटी घरमा जम्मा भएकादेखि रोपाईमा रहेका खेतलालाई समेत लगेर वितरण गर्दा धेरै जनाले खाएकाले ठूलो समूहमा प्रभाव परेको स्वास्थ्यकर्मीको टोलीले जनाएको छ । श्राद्धमा बितरण गरेको रोटी बजारबाट किनेर ल्याएको मैदा र घरको चामलको पिठो मिसाएर बनाएको रोटीमा विशााक्ती (फुड पोइजन) भएको अनुमान गरिएको छ ।

 

विशेष