समाज

बाँकेका अस्पताल अझै सञ्चालनमा आएनन्

बाँकेका अस्पताल अझै सञ्चालनमा आएनन्

 

साउन - ४। अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपात गरेको विरोधमा बाँके जिल्लाका अस्पतालहरु बुधबार पनि बन्द रहे ।

गत असार २८ गते नेपालगन्जस्थित जानकी अस्पतालका चिकित्सक डा श्यामसुन्दर यादवमाथि हातपात र अस्पतालमा तोडफोड गर्ने आरोपीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि नबढाइएको विरोधमा नेपाल चिकित्सक सङ्घ, भेरी अञ्चल समितिले मंगलबारदेखि अनिश्चितकालीन अस्पताल बन्दको आह्वान गरेको थियो ।

संघका सचिव डा आरके झाको तर्क छ, 'अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपात गर्ने पाँच जनाको नामसहित किटानी जाहेरी दिँदासमेत प्रहरीले आरोपीलाई पक्राउ नगरेका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो ।' अर्कोतर्फ, अस्पताल जस्तो अति संवेदनशील तथा अत्यावश्यक सेवामुखी संस्था एक्कासी बन्द गर्नुलाई यहाँका बुद्धिजीवी वर्ग, नागरिक समाजका अगुवा, अधिकारकर्मीले राम्रो मानेका छैनन् ।

'राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट संबद्ध चिकित्सक र संघका पदाधिकारीलाई तत्काल अस्पतालको सबै सेवा सञ्चालनका लागि हामीले आज मौखिक आग्रह गरिसकेका छाैँ । यदि यो आग्रहलाई बेवास्ता गरियो र अस्पताल सञ्चालनमा ल्याइएन भने आयोगले थप कारबाही प्रक्रिया अघि बढाउछ'– आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले भने ।

'सरकारी तथा निजी अस्पताल र निजी क्लिनिकसमेत बन्द गरिएको छ भने अस्पतालका आपत्कालीन सेवा भने सञ्चालन यथावत् राखिएको छ । संघले किटानी जाहेरी दिएका आधारमा जिल्ला प्रहरी कार्यालयले आरोपीलाई पक्राउ गरी मुद्दा चलाउने हिजोको सहमतिअनुसार प्रक्रिया अघि बढाएको अवस्थामा आज फेरि किन अस्पताल बन्द गरियो म आफैँ चकित भएको छु' – जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईको गुनासो छ ।

अस्पतालका सेवा बन्द गरिएकाले टाढाटाढाबाट उपचारका लागि नेपालगन्ज आएका बिरामी र तिनका आफन्तले ठुलो सास्ती भोग्नुपरेको छ ।

विशेष