अर्थ मुख्य समाचार

ऋण तीर्न नसकेर हैदरावाद विमानस्थल बेच्दै जिएमआर, बन्ला त अपर कर्णाली ?

ऋण तीर्न नसकेर हैदरावाद विमानस्थल बेच्दै जिएमआर, बन्ला त अपर कर्णाली ?


साउन ४ । ९ सय मेगावाट माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको भारतको जिएमआर कम्पनीले ऋण तिर्न नसकेपछि हैदरावाद अन्तर्राष्ट्रिय विमानस्थल बेच्ने तयारी गरेको छ ।

कम्पनीले उक्त विमानस्थलको ४९ प्रतिशत हिस्सा आबुधाबीको ‘आबुधाबी लगानी प्राधिकरण’लाई बेच्न लागेको हो । कारोबार अघि बढे विमानस्थलको मूल्य करिब ८० अर्ब रुपैयाँ (५० अर्ब भारु) तोकिनेछ ।

तोकिएको मूल्यमा बिके कम्पनीको ऋण भार निकै कम हुने अनुमान गरिएको छ । जिएमआरले आबुधाबी जस्तै फ्रान्सको पेरिस एरोपोर्टसँग पनि विमानस्थल बेच्नेबारे छलफल अघि बढाएको छ । तर, पेरिसभन्दा आबुधाबीसँगको छलफल निकै अघि बढेको कम्पनी स्रोतले जानकारी दियो ।

पेरिस एरोपोर्टले अहिले १४ ठूला विमानस्थल सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ । आबुधाबी प्राधिकरणसँग छलफल निकै अघि बढेकाले केही सातामा किनबेचको टुंगो लाग्न सक्ने भारतीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

तर जिएमआर र आबुधाबी प्राधिकरणले भने यसबारे केही बोलेका छैनन् । काल्पनिक सूचनाबारे मलाई कुनै प्रतिक्रिया दिनु छैन,’ जिएमआरका एक अधिकारीले भने । कम्पनीको ऋण ३ खर्ब ७४ अर्ब ८० करोड भारु रहेकोमा आर्थिक वर्ष २०१६–१७ सम्म घटेर १ खर्ब ९८ अर्ब ५६ करोडमा झरेको छ ।

ऊर्जा, विमानस्थल, सडक पूर्वाधार, सहरी विकासलगायत क्षेत्रमा लगानी गर्दै आएको जिएमआर समूहको वित्तीय अवस्था धराशयी हुँदै गएकाले पछिल्लो समय आफ्ना पूर्वाधार आयोजना बेचेर ऋण तिर्दै आएको छ । कम्पनीले यसअघि ९९ किलोमिटर कर्नाटक सडक आयोजनाको ५१ प्रतिशत सेयर ओरियन्टल स्ट्रक्चरल इन्जिनियर्सलाई बेचेको थियो ।

जिएमआरको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ६४ प्रतिशत, हैदरावाद विमानस्थलमा ६३ प्रतिशत स्वामित्व छ । यस्तै, फिलिपिन्सको म्याकटन केबु अन्तर्राष्ट्रिय विमानस्थलमा ४० प्रतिशत स्वामित्व छ । कम्पनीको ५० प्रतिशत आम्दानी विमानस्थल व्यावसायमा केन्द्रित छ ।

विशेष