स्वास्थ्य

दुई हात टेकेर ४ जनाका परिवार पाल्दै पुष्पबहादुर

दुई हात टेकेर ४ जनाका परिवार पाल्दै पुष्पबहादुर

साउन ४ । पोलियो रोगका कारण दुवै खुट्टा कामै नलाग्ने भएपछि मोरङ मङ्गलबारेका पुष्पबहादुर बोहोरा (५७) का जीवनमा कहिल्यै खुशीका दिन आएनन् । सबैथोकको भर हात भएपछि हात टेकेर बाध्यता छ ।

चौध वर्षको उमेरमा पोलियो रोग लागेपछि उनी दुवै खुट्टा अपांग भए । उपचारका लागि उत्तिबेलै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) गए पनि निको भएन ।

उनी भन्छन्, “डाक्टरले शरीरको आधा भाग नै काटेर फ्याक्नुपर्छ भनेर मलाई सल्लाह दिए तर त्यो सल्लाह मैले मानिन, अहिले पनि दुई हात टेकेरै जीवन निर्वाह गरिरहेको छु ।” रोग लागेपछि धामीझाँक्री पनि लगाइयो तर दैवको लीला केही चलेन ।

विसं २०१४ मा भोजपुरको तिवारी भञ्ज्याङमा बुबा छत्रबहादुर बोहोरा र आमा रेवताका साइला छोराका रूपमा जन्मिएका उनी दुवै हात टेकेर सहयोग माग्दै इलाम बजारका सडक पेटीमा भेटिएका छन् । हालै इलाम आएका बोहोरा सहयोगका हात फैलाउँदै विभिन्न पसलतिर घुम्छन् ।

दुवै खुट्टा पोलियोले कामै नलाग्ने भएकाले परिश्रम गरेर खान पनि मुस्किल पर्छ । दिनभरि सहयोग मागेर संकलन गरेर ल्याएको दुई-चार पैसाले चारजनाको परिवार पाल्नुपर्छ । उनका एक छोरा र एक छोरी तथा श्रीमती छन् । नौ वर्षीय छोरालाई मोरङको सनसाइन बोर्डिङ स्कूलमा पढाउँदै आएका छन् ।

“दिनभरि कमाएको पैसाले छोराछोरीलाई पढाउनु कि, पेट पो पाल्नु कि अझ वृद्धावस्था हुँदै गएपछि डुल्न पनि सकिँदैन होला, कसरी जिन्दगी चलाउँ”, पीडा पोख्दै बोहोरा भन्छन्, “यस्तो भएर पनि बाँच्नै त पर्दाे रहेछ ।” आफ्नो नाममा दुई रोपनी जग्गा छ, काम गर्ने पनि कोही छैनन्, “त्यहाँबाट आएको आम्दानीले खान पनि पुग्दैन ।”

कक्षा सातसम्म अध्ययन गरेर पोलियो रोगका कारण अध्ययन बीचमै छाड्नु परेको उनको दुखेसो छ । अपांगता भएको प्रमाणपत्र पाएपछि मासिक रूपमा रु दुई हजार भत्ता आउँछ । सहयोगका लागि विभिन्न सरकारी कार्यालय र गैरसरकारी कार्यालय घुमेको उनी सुनाउँछन् । पोलियोबाट बच्नका लागि बालबालिकालाई खोप, पोलियो थोपा खुवाउन समयमै ध्यान पु¥याउन सबैलाई सल्लाह दिन्छन् ।

इलाम, पाँचथरको फिदिम, झापा र मोरङ जिल्ला हातको भरमा घुमेको सुनाउँदै उहाँ घुमफिर गरेर नै हप्तामा दुई-चार हजार रुपैयाँ संकलन गरेर परिवारको गुजारा चलाइरहेको उनी बताउँछन् ।

विशेष