अपराध सुरक्षा कभर स्टोरी

अख्तियारद्वारा भष्टाचार मुद्धामा छानबिन भइरहेका डीआईजी नै एआईजीमा सिफारिस, तुरुन्त सच्याउन गृहमन्त्रीमाथि प-यो दबाब

अख्तियारद्वारा भष्टाचार मुद्धामा छानबिन भइरहेका डीआईजी नै एआईजीमा सिफारिस, तुरुन्त सच्याउन गृहमन्त्रीमाथि प-यो दबाब

साउन ४ । सरकारले नेपाल प्रहरीका ११ जना नायव महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरीक्षक (एआई)जीमा बढुवा सिफारिस गर्दा भ्रष्टाचारको अनुसन्धानमा परेका डीआईजी विजयलाल कायस्थ पनि परेपछि त्यसले प्रहरी मुख्यालयमा तरंग फैलिएको छ । कारबाहीको दायरामा ल्याउनुपर्ने डीआईजी कायस्थलाई पुरस्कारस्वरुप उल्टै बढुवा सिफारिस गरिएपछि बढुवा सिफारिस नै विवादमा परेको छ । 

बढुवा सिफारिसमा परेका डीआईजी कायस्थलाई अनुसन्धानको किनारा नलागेसम्म बढुवा गर्न नहुने भन्दै अहिले कतिपयले गृहमन्त्री जनार्दन शर्माको ध्यानाकर्षणसमेत गराएका छन् । भ्रष्टाचारको दायरामा परेका डीआईजीलाई बढुवा गर्दा असल, इमान्दार र संगठनप्रति बफादार अधिकृतको मनोबलसमेत गिर्ने भन्दै कतिपय प्रहरी अधिकारीले उनको बढुवा सिफारिस तुरुन्तै रोक्न पहल गर्न पनि गृहमन्त्री शर्माको ध्यानाकर्षण गराएका छन् । डीएसपीबाट एसपीमा सिफारिस सञ्जीव शर्मा दासको बढुवा सिफारिस रोकी निलम्बन गरेर वाहवाही कमाएका गृहमन्त्री शर्माले डीआईजी कायस्थको हकमा पनि त्यही नीति अंगिकार गर्नुपर्ने उनीहरुको भनाइ छ ।

पाँच वर्षअघि रामेछापको साबिक सैपू गाविस १, सिरिसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप डीएसपी शर्मालाई लागेको थियो । प्रहरी मुख्यालयले एसपीमा बढुवाका लागि दासलाई पनि सिफारिस गरेको थियो तर, गृहमन्त्री शर्माले त्यसलाई रोक्न र निलम्बन गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

डीएसपी शर्मालाई कारबाही गर्न गृहमन्त्री जनार्दन शर्माले जुन तदारुकता देखाएका थिए, डीआईजी कायस्थलाई कारबाही गर्न ढिलाइ गरेकोमा भने प्रहरी अधिकारीहरु नै आश्चर्यमा परेका छन् । कायस्थलाई सातौं नम्बरमा राखेर एआईजीका लागि सिफारिस गरिएको छ ।

डीआईजी कायस्थ प्रहरी संगठनमा अत्यन्तै भ्रष्टका रुपमा चिनिन्छन् । आफूले भ्रष्टाचार अभियोगमा अनुसन्धान गरिरहेको व्यक्तिलाई बढुवा सिफारिस गरेको भन्दै अख्तियार पनि रुष्ट भएको बताइएको छ । त्यसैले अख्तियारले चाँडै नै उनलाई कारबाही गर्ने तयारी थालेको छ ।

विवादित छबीका डीआईजी कायस्थ सुडान घोटाला काण्डमा पनि मुछिएका थिए । कायस्थको अकुत सम्पत्ति र सुन काण्डको फाइल अख्तियारमा विचाराधिन छ । ‘केही दिनभित्रै उनको भ्रष्टाचार मुद्दाबारे निर्णय हुँदै थियो । तर, सरकारले एआईजीमा सिफारिस गरेपनि उनले उन्मुक्ति पाउँदैनन्,’ अख्तियार स्रोतले भन्यो ।

स्रोतका अनुसार अकुतमा कायस्थको नाम मुछिएपछि विवादास्पद व्यापारी दिपक मल्होत्रा, तत्कालिन आईजीपी उपेन्द्रकान्त अर्याल र पूर्व एआईजी नबराज ढकालले लोकमानलाई कन्भिन्स गरी त्यतिखेर कायस्थलाई कारबाही गर्नबाट जोगाएका थिए । त्यतिखेर लोकमानले कतिपय व्यक्तिको नाम प्रतिसोध स्वरुप मुछेपनि कायस्थले भने भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको पुष्टि भएको थियो । अहिले कायस्थको २० किलो सुन काण्डले अख्तियारमा त्यतिकै चर्चा पाएको छ । कायस्थलाई जोगाउने पर्दा पछाडिका खेलाडी हुन् मल्होत्रा र ढकाल । सो काण्डलाई देखाएर तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले पूर्व आईजीपी अर्यालसँग पनि बार्गेनिङ गर्दै आइरहेका थिए । अकुत सम्पत्ति थुपारेको आरोपमा अख्तियारको छानबिनमा रहेका कायस्थको सम्बन्ध ठूला सुन तस्करहरुसँग रहेको अनुसन्धानबाट खुलेको अख्तियार स्रोतको भनाइ छ ।

युनाइटेड पोस्ट साप्ताहिकका अनुसार, कायस्थमाथि १६ महिनासम्म विमानस्थलको सुरक्षा प्रमुख हुँदा विभिन्न समयमा बरामद गरेको झन्डै २० किलो अवैध सुनको सुराकीमा अस्मिता झा नाम गरेकी महिलाको नाम राखेर कमिसन खाएको अर्को उजुरी परेको थियो । नियमित चेकजाँचको क्रममा बरामद भएको उक्त सुनमा अस्मिताको नाम सुराकीमा खडा गरी कमिसन खाएको विषयमा अख्तियारले कायस्थमाथि छानबिन थालेको थियो । सुन बरामद भएसँगै ती महिलाको नाम बारम्बार सुराकीमा भेटिनु र कायस्थसँग रेष्टुरेन्टमा पनि देखिएका कारण उनी विवादमा मुछिएका थिए । प्रहरीभित्र नैतिकताको विषयमा कायस्थ बेलाबेलामा विवादमा पर्दै आएका छन् । सुराकी काण्डमा पनि उनले बदनामी कमाइसकेको हुँदा कारबाहीमा पर्ने प्रस्ट देखिएको अख्तियार स्रोतको दावी छ ।

अकुत सम्पत्ति कमाएको आशंकामा कायस्थलगायत २९ जनाको सम्पत्ति रोक्का गरी अख्तियारले छानबिन अघि बढाएकोमा उनी २५ नम्बरमा थिए । सबै बैंक खाताहरू रोक्का भई अनुसन्धानमा तानिएका कायस्थ चर्चित सुडान काण्डमा समेत फसेका थिए । पटक–पटक बयान दिन अख्तियार धाउँदै आएका कायस्थले अख्तियारमा भरेको सम्पत्ति विवरण चित्तबुझ्दो नदेखिएपछि र अस्वाभाविक भेटिएपछि कारबाहिको अन्तिम तयारी भएको छ ।

सुडान काण्डबाट रहस्यमय ढंगले उन्मुक्ति पाएका कायस्थले त्यसपछि काठमाडौंमा १० करोडको हाराहारीमा सम्पत्ति जोडेको उजुरी अख्तियारमा परेको थियो । त्रिभुवन विमानस्थलको सुरक्षा प्रमुख हुँदा कायस्थले सुन र डलर तस्करीमा चर्चित अनुहार दीपक मल्होत्रा र दया शर्माको गिरोहसँग मिलेर अवैध सम्पत्ति आर्जन गरेका थिए । कायस्थसँगै अख्तियार धाउनेहरूमा गोविन्द निरौला, मिङमार लामा, सुदीप आचार्यलगायत छन् । गोपाल भण्डारी निलम्बनमा परेर अवकाश नै पाइसकेका छन् भने एसएसपी रविराज श्रेष्ठको तस्करीका कारण जागिर नै गएको थियो ।

विशेष