‘छाउ बार्न' धामीकै दबाब
साउन ५ । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित लैनचौरमा शान्ता कठायत नाम चलेकी माता धामी हुनुहुन्छ । गाउँले बिरामी हुँदा होस् वा समस्यामा पर्दा उनै माताको शरणमा पुग्छन् । आफूकहाँ हेराउन आउनेलाई माताको एउटै सुझाव हुन्छ, ‘महिनावारी नबार्दा समस्या आइलाग्यो रु अब घरमा छाउ बार्नू ।
गाउँमा नजिकै अस्पताल छैन । भएका स्वास्थ्य संस्थामा पनि भरपर्दो उपचार हुँदैन । केही उपाय नलागेपछि गाउँलेहरू माताको शरणमा पुगेर उपचारका लागि हारगुहार गर्छन् । माताको उपचार गर्ने एउटै मन्त्र छ । उपचारका लागि आउनेलाई उहाँ ‘छाउ बार्नु सुझाव दिनुहुन्छ । गाउँलेहरू पनि माताकै विश्वासमा छाउ बार्न तयार हुन्छन् । महिनावारी हुँदा छुइछाई नगर्न माताले दिएको सुझावअनुसार नै स्थानीयले महिनावारीको बेलामा महिलालाई छाउगोठमा राख्छन् ।
गाउँकै धामीको विश्वास र देउता रिसाउने भ्रमका कारण यहाँ छाउ बार्ने संस्कारले जरा गाढेको छ । बेलुकी छाउगोठमा सुतेकी किशोरी बिहान मृत भेटिँदासमेत स्थानीय सचेत छैनन् । बरु गाउँका धामीझाँक्रीले भनेबमोजिम नै छाउ बार्न तयार छन् । स्थानीय धामीझाँक्रीका लागि पनि छाउगोठ उपचारको गतिलो मन्त्र बनेको छ । सामान्य रुघाखोकी र ज्वरो आउँदा होस् वा पशु बिरामी हुँदा, धामीले छुइछाइ नै मुख्य कारण देखाउँदै आएका छन् । अनि उपचार मन्त्रको रूपमा उनीहरूले छाउ बार्न सुझाव दिने गरेका छन् । धामीको यही गलत सुझाव र सल्लाहका कारण पनि छाउपडी उन्मूलनमा चुनौती थपिएको छ ।
गाउँलेले माताको रूपमा पुकार्ने शान्ताको घरमा पुग्दा केही मान्छे पनि आइपुगे । बच्चा बिरामी भएपछि उपचारको खोजीमा उनीहरू त्यहाँ पुगेका थिए । माताले अक्षता र भेटी राख्न भनेपछि उनीहरूले सोहीअनुसार गरे । माता केही बेरमै धामी काम्नुभयो । सोही क्रममा उहाँले भन्नुभयो, ‘अरू सबै राम्रो छ तर घरमा छुइछाइ भएको रहेछ । घरमा महिला पाखा सरेका बेला होस पुर्याउनू, अबदेखि छाउ बार्नू ।
धामीले भनेपछि उनीहरूले पनि सोहीअनुसार गर्ने बाचा गरे । अभिभावकको भनाइअनुसार बच्चालाई रुघाखोकीसँगै ज्वरोको समस्या थियो । तर, माताले छाउ बार्नू भन्दै सुझाव दिएपछि उनीहरू त्यहाँबाट फिर्ता भए । स्थानीय बासिन्दाका अनुसार गाउँका धामीले जे समस्या पर्दा पनि छुइछाइकै कारण देखाउने गरेका छन् ।
आफूलाई अप्ठ्यारो वा समस्या पर्दा गाउँले स्थानीय पादुकास्थान मन्दिरका महन्त ९पुजारी० देवीनाथ योगीको शरणमा जान्छन् । महन्तले दिएको सुझावअनुसार नै उनीहरूले समाधानको कसरत पनि गर्दै आएका छन् । छाउपडीबारे धारणा बुझ्न खोज्दा उहाँले आफ्नो कहानी सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘केही वर्षपहिला खाना खाने बेला मेरो हात थालसम्म पुगेन, हातै रोकियो भने मुन्टो पनि पछाडि फर्कियो । त्यो खाना छाउ भएकी केटीले पकाएकी रहिछ, देउताले थाहा पाएर त्यो खाना खानै दिएनन् ।
छाउ भएकी महिलाले छुइछाइ गर्दा यस्तो भएको उहाँको दाबी थियो । तर, क्यामेरा देखेपछि विस्तारै उहाँले छाउपडीप्रतिको आफ्नो धारणा भने बदल्नुभयो । स्थानीयका अनुसार उहाँ पनि उपचारका लागि पुग्दा छुइछाइ भएकाले समस्या भएको बताउने गर्नुहुन्छ । गाउँमा सबैले मान्ने पुजारीले भनेका कुरामा पनि सबैले विश्वास गर्छन् । मन्दिरमा लसपस हुँदा देउता रिसाउने बताउने उहाँले भन्नुभयो, ‘यो पहिलेदेखिको चलन हो, अब विस्तारै बदल्नुपर्छ । भान्सा र पूजाकोठामा त समस्या होला, अब घरकै अन्य कोठामा सुताउँदा हुन्छ ।
स्थानीय शिक्षक भुवन शाहीका अनुसार गाउँका धामीझाँक्रीको सोच परिवर्तन नभएसम्म छाउगोठबाट महिलालाई घरभित्र ल्याउन मुस्किल छ । ‘सबैले धामीको विश्वास गर्छन्, सानो समस्या पर्दा पनि उनीहरूकै शरणमा पुग्छन्, शाहीले भन्नुभयो, ‘भैंसीले दूध नदिँदा पनि धामीकहाँ हेराउने चलन छ, धामीले छाउ बार्नू भन्ने मन्त्र मात्र फुक्छन् ।
गाउँका धामीको धारणा परिवर्तन नहुँदासम्म छाउपडीको कुप्रथा अन्त्य गर्न सम्भव नहुने शिक्षक शाही बताउनुहुन्छ । सर्वसाधारणको हालसम्म पनि धामीप्रति विश्वास रहेकाले अब धामीलाई नै छाउपडीविरुद्धको अभियानमा सामेल गराउनुपर्ने उहाँको सुझाव छ ।
ग्रामीण क्षेत्रमा धामीझाँक्रीका कारण पनि छाउपडीले जरा गाढ्दै गएको छ । महिला तथा बालबालिका कार्यालय दैलेखकी प्रमुख अनिता ज्ञवालीले धामीलाई नै छाउपडी उन्मूलन अभियानको नेतृत्व दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँलेले धामीलाई नै विश्वास गर्छन्, अब धामीलाई नै यसबारे बुझाउन जरुरी छ । धामी नै छाउपडीविरुद्ध लागे भने अभियान आधा सफल हुन्छ, आधा छाउगोठ नै भत्किनेछन् ।
अन्नपूर्ण