देश

खलंगाको वृहत खानेपानी आयोजना दुई वर्षमा सम्पन्न हुने

दीपबहादुर घर्ती

खलंगाको वृहत खानेपानी आयोजना दुई वर्षमा सम्पन्न हुने

साउन - ६ । जाजरकोट जिल्लाको सदरमुकाम खलंगाका लागि निर्माण हुन लागेको वृहत खानेपानी आयोजना आगामी दुई वर्षमा सम्पन्न हुने भएको छ । आयोजनाको निर्माण कार्यलाई अगाडि बढाउन निर्माण कम्पनीले खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय, जाजरकोटसँग सम्झौता गरेर निर्माण कार्यलाई अगाडि बढाएपछि आयोजनाको निर्माण कार्य दुई वर्षमा पूरा हुने भएको हो ।

जाजरकोट, खलंगा सह–लगानी खानेपानी तथा सरसफाई आयोजना निर्माण गर्नका लागि खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालय, जाजरकोटसँग लुम्बिनी केशव शाह जेभी नौबस्ता–८ बाँकेले गत असार २७ गते सम्झौता गरेको खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय प्रमुख महेसी महतोले जानकारी दिए । आयोजनाको निर्माण कार्य १२ करोड ३३ लाखमा सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले २०७६ साल असार २६ गते भित्र निर्माण कार्य सम्पन्न गरि सक्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

जाजरकोट, खलंगा सह–लगानी खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य आगामी दुई वर्षभित्रै सम्पन्न हुने भएपछि सदरमुकाम वासी खुशी भएका छन् । आयोजनालाई दीगो र प्रयाप्त बनाउनका लागि जाजरकोट, खलंगा सह–लगानी खानेपानी तथा सरसफाई आयोजनाले भेरी नगरपालीकाको साझेदारीमा उप-आयोजना सञ्चालन गरेको अध्यक्ष वसन्तप्रसाद शर्माले जानकारी दिएका छन । गाराङसीको चोरढुङ्गा खोलाको मुहानलाई पोखराको ओखरेनी पानी मुहानमा मिसाइएको अध्यक्ष शर्माले बताए । दुई खोलामा रहेका सबै पानीका मुहानहरुलाई आयोजनाले उपयोग गर्न सकेमा ५० वर्षभन्दा बढीका लागि सदरमुकाम खलंगाका लागि खाने पानी प्रयाप्त हुने अध्यक्ष शर्माको दावी छ ।

जाजरकोट, खलंगा सह–लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तरगतको उप आयोजना निर्माण गर्नका लागि भेरी नगरपालीका, जाजरकोटले आर्थिक वर्ष २०७३/०७४ मा १ करोड ३ लाख रुपैयाँ अनुदान दिएको कार्यकारी अधिकृत राम प्रशाद शर्माले जानकारी दिए । उप आयोजना अन्तरगत भेरी नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको खाने पानीको मुहान मिसाउने काम नै यसवर्ष भेरी नगरपालिकाले निर्माण गरेको सवैभन्दा ठूलो आयोजना भएको अधिकृत शर्माको भनाई रहेको छ ।

छोटो समयमा धेरै ठूलो काम सम्पन्न गर्न सफल भएको भन्दै भेरी नगरपालीकाका प्रमुख चन्द्र प्रकाश (सिपी) घर्तीले जाजरकोट, खलंगा सह–लगानी खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष शर्मालाई धन्यवाद दिए । नगरपालिकाद्वारा निर्माण गरिने सवै आयोजनाहरु यहि गतिमा सम्पन्न भएमा दुई वर्षभित्रमै भेरी नगरपालिकाले नयाँ गति लिने प्रमुख घर्तीको भनाई रहेको छ ।

 

विशेष