मुख्य समाचार

मनसुन सक्रिय नहुँदा १५ प्रतिशत मात्रै रोपाइँ

मनसुन सक्रिय नहुँदा १५ प्रतिशत मात्रै रोपाइँ

असार १८ । मनसुन सक्रिय नहुँदा जिल्लामा हालसम्म १५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार पूर्वी चितवनमा ५० प्रतिशत धान रोपाइँ भएको छ भने पश्चिम चितवनको धान रोपाइँ न्यून भएकाले समग्र प्रतिशत १५ प्रतिशत हाराहारी रोपाई भएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा कतिपय ठाउँमा अहिलेसम्म धानको बीउ राख्ने कार्य हुँदैछ तर गतवर्ष यतिबेला ३० प्रतिशत धान रोपाइँ भएको उनले बताए । जिल्लामा २९ हजार दुई सय हेक्टरमा वर्षे धान र पाँच हजार हेक्टरमा चैते धान रोपाइँ हुने गरेको छ । लामिछानेका अनुसार यसवर्षको वर्षे धान लगाइने क्षेत्रफल २०० हेक्टर हाराहारी घटेको छ ।

माछापालन ५० हेक्टर, प्लटिङ र केरामा १५० हेक्टर जमिन प्रयोग भएपछि धान रोपाइँ गर्ने क्षेत्रफल घटेको हो । गतवर्ष चैते धान १२ हजार मेट्रिक टन र वर्षे धान एक लाख ८ हजार मेट्रिक टन गरी एक लाख २० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । कार्यालयले यसवर्ष एक लाख २५ हजार मेट्रिक टन धान उत्पादन हुने लक्ष्य लिएको छ ।

जिल्लामा सावित्री, राम धान वार, सामा मन्सुली, हर्दिनाथ १, राधा ४ सहित हाईब्रिड जातमा गोरखनाथ, लोकनाथ, यूएस ३१२ लगायतका धान लगाईने गरिन्छ । लामिछानेका अनुसार १० प्रतिशत हाईब्रिडका धान लगाईदै आएको छ ।

कार्यालयका प्रमुख सुधिर श्रेष्ठले भरपर्दो सिंचाई भएका ठाउँ बाहेकमा रोपाई हुन नसकेको बताए । मनसुन सक्रिय नहुँदा यसवर्ष धान रोपाईमा ढिलो हुने देखिएको उनले बताए ।

धेरै खेतमा आकाशे पानीको भरपर्नुपर्ने हुँदा रोपाईमा ढिलाई भएको पनि उनले बताए । कुलोबाट सिंचाई हुने र ठूला घोलहरुमा मात्र रोपाई भएको छ । जिल्लामा साउन अन्तिमसम्म धान रोपाई हुने गर्दछ ।

Ropai

विशेष