प्रवास

पत्रकार महासंघ यूएईलाई नागरिक समाजको अगुवाको रुपमा भूमिका खेल्न सुझाव

पत्रकार महासंघ यूएईलाई नागरिक समाजको अगुवाको रुपमा भूमिका खेल्न सुझाव

मोहन बस्याल

यूएई, ७ साउन । यूएईमा क्रियाशील संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले यहाँ क्रियाशील नेपाल पत्रकार महासंघलाई पेशागत संगठन मात्र नभएर नागरिक समाजको अगुवाको रुपमा समेत भूमिका खेल्न आग्रह गरेका छन् । शुक्रबार महासंघले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा आफ्ना विचार तथा सुझाव राख्दै संघ संस्थाका प्रतिनिधिले सामाजिक संघ संस्थामा देखिएका समस्या समाधानका लागि समेत नेपाल पत्रकार महासंघले अग्रसर भई भूमिका खेल्न सक्नु पर्ने बताए ।

कार्यक्रममा सहभागीहरुले कतिपय पत्रकारले समस्या समाधान गराउने भन्दा समस्या बल्झाउने तथा संस्थाहरुबीच फाटो ल्याउने भूमिका खेलेको भन्दै आलोचना समेत गरेका थिए ।

कार्यक्रममा जनसम्पर्क समिति यूएईका अध्यक्ष खेमराज बस्नेत, प्रवासी नेपाली मञ्च यूएईका अध्यक्ष श्याम कँडेल, जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष हेमन्त पौडेल, जन प्रगतिशील मोर्चा यूएईका अध्यक्ष काशी काफ्ले, जनप्रगतिशील मोर्चाकाका मनोज कसु, अन्तर्राष्ट्रिय नेपाली एकता समाज यूएईका कृष्ण केसी, प्रवासी नेपाली एकता समाजका अध्यक्ष शशि सिलवाललगायतले आफ्ना विचार तथा सुझाव राखेका थिए ।

यस्तै एनआरएनएका अध्यक्ष सुदीप कार्की, नेपाली समाज यूएईका मणि भुर्तेल, जनजाति महासंघ यूएईका अध्यक्ष डेरराज तमु, नेपाली सोसियल क्लबका शालिक सुवेदीलगायतले पनि बोलेका थिए ।

कार्यक्रमका वक्ताले आपसी ईगो, पूर्वाग्रहका कारण कहिलेकाँही समस्या देखिने गरेको भन्दै समाजसेवामा लागेका मानिसले त्यस्ता कुरात्याग गर्न सक्नु पर्नेमा जोड दिएका थिए । नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष भुपराज बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण खनालले स्वागत मन्तव्य राखेका थिए । सचिव मेघराज सापकोटाले सञ्चालन गरेको कार्यक्रममा पत्रकार मोहन बस्यालले छलफलका लागि आधारपत्र प्रस्तुत गरेका थिए ।

विशेष