देश

जाजरकोटका तीन गाउँपालिकामा मध्यम स्तरीय खाद्य असुरक्षित हुन सक्ने पूर्वानुमान

दीपबहादुर घर्ती

जाजरकोटका तीन गाउँपालिकामा मध्यम स्तरीय खाद्य असुरक्षित हुन सक्ने पूर्वानुमान

साउन ९ । जिल्लाका तीन वटा गाउँपालिकामा आगामी चार महिनामा मध्यम स्तरीय खाद्य असुरक्षित हुन सक्ने पूर्वानुमान गरिएको छ । आईतवार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली अन्तरगत खाद्य सुरक्षा अबस्था विश्लेषण समितिको बैठकले यस्तो पुर्वानुमान गरेको हो ।

बैठकले बारेकोट गाँउपालिकाको रामिडाँडा, रोकायगाँउ, नायकवाडा, सक्ला, जुनिचाँदे गाँउपालिकाको गर्खाकोट, कोर्ताङ्ग, मजकोट, दह र कुशे गाँउपालिकाको पजारु, टालेगाँउ, अर्छानी र पैंकमा आगामी चार महिनामा मध्यम स्तरीय खाद्य असुरक्षित हुन सक्ने पुर्वअनुमान गरेको जिल्ला कृषि विकास कार्यालय, जाजरकोटका कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपालीले वताए । उक्त गाउँपालीकाहरुमा खाद्यान्न बाली क्षेत्रफल र उत्पादन कमि हुने, यस क्षेत्रमा रहेका बजारमा पनि खाद्यान्न संञ्चित कम हुनु र प्रत्येक घर धुरीमा पनि खाद्यान्न अभाव हुनु, साथै यि क्षेत्रमा सडक मार्गको पहुच नहुनु, बर्षातको समयमा बाटो आवस्था विग्रन सक्ने भएको हुदा ढुवानीमा समस्या पैदा हुने, हावा हुरीको कारणले बाली नालीमा क्षती पुगेको हुदा यि क्षेत्रमा मध्यम खाद्य असुरक्षित हुन सक्ने पुर्वअनुमान गरिएको अधिकृत रामजालीले जानकारी दिए ।

बैठकले भेरी नगरपालिकाको खलंगा, पुन्मा, भूर, जगतिपुर, छेडागाड नगरपालिकाको साल्मा, कार्कीगाउँ, झाप्रा, दशेरा, सुवानाउली र पजारु ३–९, त्रिवेणी नलगाड नगरपालिकाको खगेनकोट, लहँ, डाँडागाउँ, रग्दा, भगवती र शिवालय गाउँपालकिाको सिमा, थालौकर, जुङ्गाथापाचौरमा आगामी चार महिनामा न्युनतम खाद्य असुरक्षित हुन सक्ने पूर्वअनुमान गरिएको छ । हिउदे वालिको खाद्यान्न र बजारबाट खरिद गरिएको खाद्यान्न गरि औषत १.५ क्विन्टल प्रति घरधुरि खाद्यान्न उपलब्ध भएको, उक्त खाद्यान्नले बर्षे बाली नभित्रेसम्म पुग्ने अनुमान गरिएको छ । उक्त गाउँ तथा नगरपालिकाहरु सडक पहुँच भित्र रहेको हुदा स्थानिय बजारमा खाद्यान्न संचितको अवस्थामा सुरक्षित रहने, कृषि तथा पशुजन्य वस्तु उत्पादन तथा विक्रि वितरणबाट प्राप्त आम्दानीले खाद्य सुरक्षामा सकारात्मक प्रभाब पर्ने, जडिबुटी संकलनबाट प्राप्त आम्दानीले खाद्य सुरक्षामा केहि सहयोग पुग्ने, विदेश तथा भारतबाट प्राप्त विप्रेशणबाट पनि केही आम्दानी प्राप्त भएर खाद्य सुरक्षामा सहयोग पुग्ने पुर्व अनुमान गरिएको छ ।

उक्त बैठकमा संसारमा यान्त्रिक बिकासद्धारा मान्छेहरुले हरेक चिज निर्माण गर्न सकेको भएता पनि खाद्य निर्माण गर्न नसकेको बरिष्ठ कृषि विकास अधिकृत डा. श्रीराम घिमिरेले वताए । मान्छे बाँच्नको लागि खाद्य आधारभुत कुरा भएको वताउदै बरिष्ठ कृषि विकास अधिकृत डा. घिमिरेले भने–“खाद्य अधिकार–मानव अधिकार भित्र पर्दछ, त्यसकारण खाद्य अधिकारलाई मानव अधिकारका रुपमा स्थापित गर्नका लागि सरकारले खाद्य सुरक्षाको अबस्थालाई विश्लेषण गर्नु पर्दछ, अबस्था बिश्लेषण अनुरुपको योजना बनाएर कार्यन्वयन गर्न आबश्यक रहेको छ ।”

खाद्य सुरक्षित हुनका लागि हरेक नागरिकमा खाद्य उपलब्धता, पहँुच, क्रयशक्ति, उपयोगिता, र स्थायित्व हुनु पर्ने बरिष्ठ कृषि विकास अधिकृत डा. घिमिरेले वताए । खाद्य सुरक्षित हुनका लागि नागरिक आफैले उत्पादन गरेर, बाहिरवाट आयात गरेर वा आकस्मिक रुपमा खाद्य अनुदान लिएर गर्न सकिने डा. घिमिरेको भनाई रहेको छ ।

कृषि पेशालाई विकास गरेर खाद्य सुरक्षाको अबस्थालाई सुदृढ गर्नु पर्ने छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतराले वताए । जनता तथा किसानको घरमा हामी जादा किसानकै घरमा उत्पादन भएको मकैको ढिडो खाएर किसानले उत्पान गरेको अन्नबालीलाई प्रोत्सान गर्नु पर्नेमा प्रमुख महतराले जोड दिए । जिल्लाका कार्यालय प्रमुखहरुले बारेकोट, सरु, चैया, सात्तियाँमा फल्ने रातो चामल किनेर खानु पर्ने प्रमुख महतराले वताए । आगामी दिनमा स्थानिय सरकारको साँझेदारी लगानीमा रैथाने बाली उत्पानमा जोड दिनु पर्ने प्रमुख महतराले वताए ।

स्वस्थ्य रहन पोषिलो खाना खान पाउनु पर्ने नागरिक अधिकार भैरहेको सन्दर्भमा अझै पनि जिल्लाबासीहरु खाद्य असुरक्षित अबस्थामा रहनु पर्ने अबस्था निकै दुखद भएको भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश (सिपी) घर्तीले वताए । बिकासशिल देशका नागरिकहरुले उर्जा क्यालोरिको मापन गरेर खाना खाने गरिरहेको वेला हामी भने खाद्य असुरक्षित अबस्थामै रहनु परेको भन्दै प्रमुख सिपी घर्तीले चिन्ता व्यक्त गरे । नेपालको संविधान, २०७२ को भाग, ३ मौलिक हक र कर्तव्य अन्तरगत धारा ३६ मा खाद्यको हकलाई सुनिश्चित गरेको प्रमुख घर्तीले वताए । उक्त संविधानको धारा ३६ मा प्रत्येक नाागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखीममा पर्नु पर्ने अवस्थाबाट सुरक्षित हुने हकलाई स्पष्ट गरेको प्रमुख घर्तीले वताए । विश्व व्यापार संगठन, बाल अधिकार अभिसन्धि, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय अनुबन्ध आदिसँग तादम्य मिलाउन गरिएका प्रतिबद्घताहरूलाई पूरा गर्ने गरि लाग्नु पर्नेमा प्रमुख घर्तीले जोड दिए ।

शक्ति र पावरका लागि प्रथम र दोश्रो विश्व युद्ध भएको वताउदै अब हुने तेश्रो विश्व युद्ध खाद्यका लागि हुने प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले वताए । हाल जिल्लामा देखिएको खाद्य असुरक्षा प्रति जननिर्वाचित प्रतिनीधि र स्थानिय तहहरु सम्वेदनशिल बन्नु पर्नेमा प्रजिअ पोडेलले जोड दिदै सम्वेदनशिल बन्न नसके मानवता विरोधी काम हुने ठोकुवा गरे ।

 

विशेष