समाज

१० लाखका घर खोरजत्रा !

१० लाखका घर खोरजत्रा !

साउन ९ । क्याथोलिक रिलिफ सर्भिस सीआरएसले १० लाख रुपैयाँ खर्चेर बनाएको खोरजत्रो घरको आलोचना भएपछि केही ठूलो घर बनाउन थालेको छ । परिमार्जित १६ वटा घर पनि आलोचनामुक्त भने भएका छैनन् । बुंकोटमा बनेको घर अनुगमन गरी फर्केका जिल्ला वन अधिकृत जीवनाथ पौडेलका अनुसार परिमार्जन गरे पनि ती घर प्रयोग गर्नलायक छैनन् । ‘गारोले ओगट्ने क्षेत्रफलभन्दा कोठा साँघुरो रहेछ’, उहाँले भन्नुभयो, ‘एउटा कुर्सी र टेबल राखेपछि अरू केही अट्दैन ।

त्यस्तो घर के काम लाग्छ र ’ तालिमका क्रममा बनाउने घरलाई सामुदायिक भवनका रूपमा प्रयोग गर्न मिल्ने गरी बनाउन जिल्ला दैवीप्रकोप उद्धार समितिले सुझाव दिएको थियो । ‘तर फेरि प्रयोगविहीन घर बन्यो । सामुदायिक भवन बन्न सकेन’, डीएफओ पौडेलले भन्नुभयो, ‘तालिम पनि होओस् । समुदायले प्रयोग गर्न मिल्ने घर पनि बनोस् भन्ने चाहना हो । त्यस्तो हुन सकेन ।’

भूकम्पपछि राहत पुनर्निर्माण र पुनःस्थापनाका लागि एक अर्ब २५ करोड रुपैयाँको कार्यक्रम लिएर गोरखा आएको सीआरएसको ‘डेमोहाउस’ यसअघि पनि विवादित बनेको थियो । कुनै न कुनै कार्यालय सञ्चालन गर्न मिल्ने गरी बनाउन गरेको आग्रह लत्याएर बेकामका घर बनाएको सहिद लखन गाउँपालिका ८ का अध्यक्ष काशिनाथ अम्गार्इं बताउँछन् । ‘अनुमति दिँदैमा कुनै न कुनै कार्यालय चलाउन मिल्ने बनाउनुपर्छ भनेको थिएँ’, उनी हाँ भन्छन्, ‘१० लाख रुपैयाँ खर्चेर बनाएका घर, दुई÷चार जना उभिँदा भरिन्छ, कोठा के काम रु विद्यार्थीको डेराजत्रो पनि छैन ।’

जनप्रतिनिधिसँगको समन्वय र सुझावविपरीत बनेको प्रयोगविहीन घरलाई सामुदायिक भवनको रूपमा स्विकार्न नसकिने अम्गार्इंले बताए । ‘त्यो घर सामुदायिक भवन हुनै सक्दैन’, उनले भने, ‘म सामुदायिक भवन स्विकार्नै सक्दिनँ ।’

सीआरएसले ५० दिने डकर्मी तालिमका क्रममा सिकारु डकर्मी, सिकर्मीको प्रयोग गरेर ‘डेमोहाउस’ बनाएको हो । उसले विभिन्न २० ठाउँमा डकर्मी तालिम सञ्चालन गरेको छ । तालिमका क्रममा २० ठाउँमा २० वटा घर बन्दै छन् । एउटालाई १० देखि १४ लाख रुपैयाँसम्म खर्च हुने साझेदार संस्था पद्धति विकास सेवा केन्द्रले जनाएको छ । ढुंगामाटोको सामुदायिक घरलाई १० लाख र आरसीसी घरलाई १४ लाखका दरले खर्च भएको संस्थाका रविन अधिकारीले जानकारी दिए । निर्माणाधीन १६ वटा डेमोहाउसमध्ये ढुंगामाटोले बनेको १० र आरसीसी ६ वटा छन् ।

अन्नपूर्ण

विशेष