गाडी,आइफोन र ल्यापटप २४ घन्टाभित्र फिर्ता गर्न सचिव मैनालीलाई निर्वाचन आयोगको पत्र
साउन ९ । निर्वाचन आयोगले तत्कालीन सचिव गोपीनाथ मैनालीले सवारी साधनलगायत सामग्री नबुझाएको भन्दै २४ घण्टाभित्र फिर्ता गर्न पत्राचार गरेको छ। आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएर मैनालीको जिम्मामा रहेको बा २ झ ४४९ नम्बरको ल्यान्डक्रुजर प्राडो गाडी, ल्यापटप र मोबाइल फोन सेट आइफोन सेभेन प्लस फिर्ता पठाइदिने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
सचिव मैनाली असार ११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा भएका हुन् । मैनालीले चढ्दै आएको बा १० च ८८०९ नम्बरको टेरियस गाडी असार १३ मा फिर्ता गरेको आयोगले जनाएको छ । पदाधिकारीसँग कुरा नमिलेपछि आयोगकै आग्रहमा सरकारले दोस्रो चरणको चुनावको पूर्वसन्ध्यामा मैनालीको सरुवा गरेको थियो ।
आयुक्तहरूले चाहेको सुविधासम्पन्न गाडी किन्ने विषयमा विमति राख्दा आफ्नो सरुवा गरिएको आरोप मैनालीले लगाएका थिए । उनले आयोगका पदधिकारीले एकभन्दा बढी प्रयोग गरिरहेको जनाउँदै थप गाडी किन्नुपर्ने आवश्यकतै नरहेको बताएका थिए ।
आयोगमा रहँदा उनी स्वयंले पनि दुईवटा गाडी प्रयोग गरेको देखिएको छ। आयोग पदाधिकारीले भने निर्वाचन व्यवस्थापन कार्यमा मैनालीबाट असहयोग भएकाले सरुवा गरिएको जनाएको थियो। मैनालीको सरुवापछि आयोगले प्रमुख निर्वाचन आयुक्त र चार जना आयुक्तका लागि ५ वटा विलासी गाडी किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ।
कान्तिपुर