एक महिनापछि सञ्जय पण्डितको शव काठमाडौं ल्याइयो, आजै अन्त्यष्टि गरिने
साउन १० । अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएका आरोही तथा अल्ट्रा धावक सन्जय पण्डितको शव लगभग एकमहिना पछि काठमाडौं ल्याइएको छ ।
सोमबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमार्फत ल्याइएको पार्थिव शरीर मंगलबार १० देखि ११ः३० बजेसम्म श्रद्धान्जलीका लागि दशरथ रंगशाला त्रिपुरेश्वरमा राखिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
त्रिपुरेश्वरपछि उनको शव हेलिकोप्टर मार्फत प्यूठान लगिने जनाइएको छ । उनको शवलाई प्यूठानको टिकुरी बसपार्कमा दिउँसो १ देखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने र सोही दिन दाहसंस्कार गरिने जनाइएको छ ।
अमेरिकाको अलेस्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा जुन १६ मा उनको निधन भएको थियो । एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत जुन ३ मा गएर २६ मा फर्किने उनीहरुको योजना थियो ।
करिब १७ हजार २ सय फिटमाथि हाइ अल्टिट्युड सिकनेसका कारण उनको निधन भएको हो । पण्डित एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत डेनाली चढ्न गएका थिए । उक्त समूहलाई टासी शेर्पाले नेतृत्व गरेका थिए ।
संसारका केही अग्ला चुचुरा आरोहण गरिसकेका पण्डितले सन् २०१३ मे १९ मा सगरमाथा आरोहण गरेका थिए ।