समाज

झापामा सवारी दुर्घटनामा ८६ जनाले ज्यान गुमाए

झापामा सवारी दुर्घटनामा ८६ जनाले ज्यान गुमाए


साउन १० । गत आर्थिक वर्ष २०७३/७४ झापामा सवारी दुर्घटनामा ८६ जनाको मृत्यु भएको छ ।

सो आवमा सवारी दुर्घटनामा ६९ पुरुष, १३ महिला र चार बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख ढुण्डीराज गिरीले जानकारी दिए ।

सवारी दुर्घटनाको संख्यामा कमी आए पनि मृत्युदर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्यांकानुसार हरेक वर्ष सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा वृद्धि हुँदै गएको छ । सोअनुसार आव ०७१-७२ मा ६६, ०७२-७३ मा ७९ र आव ०७३-७४ मा ८६ जनाको मृत्यु भएको छ ।
जिल्लामा सवारी दुर्घटनाको संख्यामा भने कमी आएको छ । आव ०७१-७२ मा १४४, ०७२-७३ मा १९८ र आव ०७३-७४ मा १९१ सवारी दुर्घटना भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

मापसे बढ्दै

हरेक वर्ष मापसे गरेर सवारी चलाउनेको संख्या बढ्दै गएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । आव २०७३÷७४ मा मापसे गरेर सवारी चलाउने एक हजार ४५० जनालाई कार्यालयले कारबाही गरेको छ, जुन गत वर्षको तुलनामा ६०७ बढी हो ।

आव ०७३-७४ मा ट्रक १७, बस ११, कार–जिप–भ्यान १०९, मोटरसाइकल एक हजार १६६, ट्र्याक्टर ६३ र टेम्पोका ८३ जना चालकलाई कारबाही गरिएकामा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेको कार्यालयले जनाएको छ । जिल्लामा आव ०७१-७२ मा ९०३ र आव ०७२-७३ मा ८४३ जना मापसे कारबाहीमा परेका थिए । कार्यालयले आव ०७३-७४ मा मापसे कारबाहीबाट रू १४ लाख ५० हजार राजवश्वसमेत संकलन गरेको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख ढुण्डीराज गिरीले दण्डसजाय कम भएकाले जानीजानी गल्ती गर्ने प्रवृत्ति बढेको बताए । “चालकले मापसे गरे कारबाहीमा पर्छु भन्ने जान्दा जान्दै गल्ती गरिरहेका छन”, उनले भने, “चालकको चेतनामा वृद्धि नभएपछि कसैको केही लाग्दैन रहेछ ।”

विशेष