मुख्य समाचार

नआउने भयो दशैंमा मेलम्ची, सुरुङ खन्न मात्र अझै पाँच महिना

नआउने भयो दशैंमा मेलम्ची, सुरुङ खन्न मात्र अझै पाँच महिना

साउन १० । उपत्यकावासीलाई दशैंसम्म मेलम्चीको पानी खुवाउने आश्वासन सुरुङ खन्ने काममा भएको ढिलाइले अर्को पाँच महिनामा पनि पूरा हुने देखिएको छैन।

सुरुङ खन्ने काम अझै २.३ किलोमिटर बाँकी छ। तर हाल दैनिक सालाखाला १७ मिटरका दरले खनिएका कारण दुई महिनामा जम्मा एक किलोमिटर मात्र खनिनेछ । यस हिसाबले २.३ किलोमिटर सुरुङ खन्न कम्तीमा पाँच महिना लाग्नेछ ।

सुरुङ खन्ने काम सम्पन्न भएपछि त्यसलाई आरसी ढलानलगायतका काम सक्दा ६ महिना लाग्छ । यही गतिमा काम हुँदा पनि कम्तीमा माघसम्ममा मेलम्चीको पानी काठमाडौं आउने सम्भावना रहेको छ । तर मेलम्ची खानेपानी विकास समितिले भने तोकिएकै समयमा आउने वा नआउने बारेमा  कुनै प्रतिक्रिया दिएको छैन ।

समितिले अन्तिम समयको काममा नरम चट्टान भएकाले ढिलो भएको जनाएको छ । समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले नरम चट्टान भएकाले विस्फोट गर्न बढी चुनौती हुने र विस्तारै काम गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । ‘टेक्निकल रूपमा कुनै समस्या छैन’, दुवाडीले भने, ‘सिन्धु ग्याल्थुम खण्डमा कमलो चट्टान भएकाले समस्या आएको हो । उनका अनुसार सिन्धुबाट ग्याल्थुम र ग्याल्थुमबाट अम्बाथानतर्फ काम भइरहेको छ । प्रवेशद्वारबाट खनिएको स्थानको दूरी बढ्दै जानुले पनि काम सुस्त भएको हो ।

गोरखापत्र

विशेष