मुख्य समाचार

रक्षा बन्धन कहिले मनाउने भन्ने विषयमा चर्काे विवाद, पण्डितहरुले दिए फरक फरक सुझाव

रक्षा बन्धन कहिले मनाउने भन्ने विषयमा चर्काे विवाद, पण्डितहरुले दिए फरक फरक सुझाव

जनकपुर, ११ साउन । रक्षाबन्धन कुन तिथिमा मनाउने भन्ने विषयमा जनकपुरमा मत बाँझिएको छ । नागपञ्चमीका दिन मनाउने कि पूर्णिमाकै दिन मनाउने भन्नेमा जनकपुरमा द्विविधा परेका छ । दुई पञ्चांगमा फरकफरक तथ्य देखिएका कारण जनकपुरमा कुन तिथिमा मनाउने विषयलाई लिएर यस्तो अवस्था सिर्जना भएको छ ।

मैथिली पञ्चांगमा पूर्णिमाकै दिन मनाउन भनिएको छ । सो दिन बिहान १० बजेदेखि २ बजेसम्म रक्षाबन्धन मनाउने तिथि दिइएको छ । तर नेपाली पञ्चांगले सो दिन दोष रहेकाले नागपञ्चमीका दिन रक्षाबन्धन मनाउन सुझावसमेत दिएको छ । नेपालको पञ्चांग निर्णायक समितिले प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष २३ साउन सोमबार श्रावण शुक्ल पूर्णिमा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण १३ साउनमै नागपञ्चमी मनाउन सुझाव दिएको छ ।

पञ्चांग समितिले सत्कर्मरत्नावली, निर्णयसिन्धु र कृत्यबाटिकाजस्ता ग्रन्थहरूका आधारमा यो निर्णय लिइएको बताएको छ । पञ्चांग समितिको विज्ञप्तिमा भनिएको छ, ‘श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण भएकाले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन श्रावण १३ गते शुक्रबार नागपञ्चमीका दिन गर्नु शास्त्र तथा परम्पराअनुसार समुचित छ ।’

तर मैथिली पण्डितहरूले मैथिली पञ्चांगको हिसाबले नै मनाउन सुझाएका छन् । जनकपुर क्षेत्रमा मैथिली पञ्चांगकै हिसाबले पर्व मनाउने गरिन्छ ।

पण्डित दिगम्बर झा दिनमणिले पूर्णिमाको दिन बिहान ११ बजेभन्दा पहिला नै रक्षाबन्धन मनाउन सल्लाह दिएका छन् । उनले रक्षाबन्धन मिथिलाञ्चलमा प्रायः बिहान नै हुने भएकाले पूर्णिमाका दिन खासै असर नपर्ने दाबी गरे ।

ग्रहण लाग्दा चन्द्र ग्रहणको बेला १२ घण्टा पहिला असौच हुने गरेको छ भने सूर्य ग्रहणको बेला २४ घण्टा पहिला असौच हुने गरेको छ । रक्षाबन्धनका दिन जनै पूर्णिमा मिथिलाञ्चलमा हुँदैन । नेपाली भाषीका अतिरिक्त दक्षिण भारतीयहरू जनै पूर्णिमा मनाउने गरेकाले त्यहाँ केही समस्या देखिएको मैथिली विद्वान् पण्डित दिनमणिले बताए ।

१ सय १० वर्षको इतिहासमा चौथोपटक यस प्रकारको समस्या देखिएको छ । यसअघि २७ वर्ष पूर्व विसं २०४७ सालमा यो समस्या देखिएको थियो । विसं १९६३, १९८२, २०२८ र २०४७ सालमा यस्तै परेको थियो । त्यो बेला पनि नेपाली भाषी क्षेत्रमा नागपञ्चमीकै दिन रक्षाबन्धन परेको थियो भने मैथिली भाषीहरूले पूर्णिमाकै दिन रक्षाबन्धन मनाएका थिए । मिथिलाञ्चलमा रक्षाबन्धनका दिन पण्डितद्वारा रक्षासूत्र बाँधीदिने गर्छन् । ग्रहणका कारण जानकी मन्दिरको झुला कार्यक्रम रोकिएको छैन ।

विशेष