कर्पोरेट

लामो दूरीको सेवा विस्तार गर्दै साझा यातायात

लामो दूरीको सेवा विस्तार गर्दै साझा यातायात

 

साउन - ११ । साझा यातायातले उपत्यका बाहिर(लामो दूरी) मा सेवा बिस्तार गर्ने भएको छ । साझा यातायातले १३ वटा नयाँ बस खरिद गरेर सेवा बिस्तार गर्न लागेको हो ।

साझाले अहिले दैनिक एउटा काठमाडौँ–बाग्लुङ सेवा सञ्चालन गरिरहेको छ । देशका अरु भागमा समेत लामो दूरीमा साझा बस चलाउन माग भएको कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । साझाको पुरानै रङ्ग र सेवा हुनेछ । तेह्रवटा नयाँ गाडीमध्ये १२ वटा डिलक्स र एउटा अपाङ्गता, ज्येष्ठ नागरिकमैत्री होचो गाडी छ । यी बस केही समयमा नै उपत्यका भित्रने उनी बताउँछन् । नयाँ रुटको टुङ्गो अहिले नै साझाले गरिसकेको छैन । उनले भने, “धेरै ठाउँबाट माग भएको छ त्यहीमध्येबाट गाडी आएपछि छनोट हुनेछ ।”

गत वर्ष काठमाडौँ महानगरपालिकाले १० करोडको सेयर खरिद गरेको थियो । त्यही रकमबाट साझाले नयाँ बस खरिद गर्न लागेको हो । ललितपुर महानगरपालिकाले पनि केही दिन पहिले एक करोडको सेयर खरिद गरेको थियो । गत ३० गते महानगरपालिका र साझा यातायातकाबीचमा सम्झौता भएको हो ।

विसं २०१८ मा स्थापित साझा यातायात पहिले उपत्यका र उपत्यका बाहिर सहज यातायातको साधन मानिन्थ्यो । दुई दशक बन्द भएपछि गत वर्षको वैशाखबाट फेरि सञ्चालनमा आएको हो ।

विशेष