देश

पूरा होला त ! धनबहादुरको मतदान गर्ने अन्तिम इच्छा

दीपबहादुर घर्ती

पूरा होला त ! धनबहादुरको मतदान गर्ने अन्तिम इच्छा

साउन - ११ । जाजरकोटका त्रिवेणी नलगाड नगरपालिका–२ डाडाँगाउँका ४५ बर्षिय धनबहादुर चनाराले हालसम्म भएको सबै निर्वाचनमा एक पटक पनि मतदान गरेका छैनन् । जीवनमा एक पटक पनि मतदान नगरका ४५ बर्षिय धनबहादुर चनाराको अन्तिम ईच्छा मतदान गर्ने रहेको छ ।

जीवनको लामो समय कलापहाडमा बिताएका चनारा यतिवेला भने, मतदाता नामावली दर्ता गर्ने अत्कट चहाना राखेर जिल्ला निर्वाचन कार्यालयमा पुगेका छन् । नेपालको संविधान २०७२ ले गरेको व्यवस्था अनुरुप बालिक मताधिकारलाई प्रयोग गरेरै छाड्ने चाहनासहित आफू फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा सहभागी हुन जिल्ला निर्वाचन कार्यालयमा पुगेको चनाराले बताए ।

चनारा जस्तै भेरी नगरपालिका–१२ कि ५४ वर्षिय बिष्णुमाया शाहीलाई गत बैसाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकोमा निकै ठूलो पछुतो भएको छ । सम्पन्न स्थानिय तहको निर्वाचनमा मतदान गर्न नपाएको भएता पनि आगामी दिनमा हुने सबै निर्वाचनमा मतदान गर्नबाट आफू बञ्चित नहुने बिष्णुमाया शाहीको भनाई रहेको छ । मतदान गर्न नपाएको पछुतोलाई आगामी दिनमा मनभित्र पालेर नबस्ने उदेश्य राखेर यतिवेला आफू फोटोसहितको मतदाता नामावली सूचीकृत गर्न जिल्ला निर्वाचन कार्यालयमा पुगेको शाहीले जानकारी दिएकी छन् ।

यही साउन १ गते देखि १५ गते सम्म जिल्ला निर्वाचन कार्यालयमा छुटेका फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा निकै भीडभाड भईरहेको जिल्ला निर्वाचन कार्यालय, जाजरकोटले जनाएको छ । साउन १ गतेदेखि हालसम्म जिल्ला निर्वाचन कार्यालयमा ८ सय १८ जनाले फोटोसहितको मतदाता नामावली सूचीकृत गरेको जिल्ला निर्वाचन कार्यालय, जाजरकोटका सूचना अधिकारी सतिष जंग शाहले जानकारी दिए । मतदाता नामावली सूचीकृत गर्ने ८ सय १८ जना मध्ये ४ सय ७० जना महिला र ३ सय ४८ जना पुरुष रहेको सुचना अधिकारी शाहले बताए । हालसम्म जिल्ला निर्वाचन कार्यालयमै आएर छुट मतदाता नामावली सूचीकृत गर्नेहरुमा भेरी नगरपालिका, त्रिवेणी नलगाड नगरपालिका, छेडागाड नगरपालिका र कुशेगाउँ पालिकाका नागरिकहरु रहेको शाहले जानकारी दिए ।

त्यसैगरी मतदाता नामावलीमा भएको त्रुटी सच्याउन र बसाईसराई तथा विवाह भएर ठेगाना परिवर्तनका लागि ४१ जनाले निवेदन दिएको शाहले बताए । छुटेका फोटोसहितको मतदाता नामावली संकलन गर्नका लागि यहि साउन १६ गतेदेखि ३२ गतेसम्म जिल्लाका ७ वटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन डेस्क स्थापना गरिने जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिए ।

जिल्लाका ७ वटै स्थानिय तहमा यसभन्दा पहिलानै फोटोसहितको मतदाता नामावली सूचीकृत गर्नेहरुको संख्या ७८ हजार ९ सय ५४ जना रहेको छ । जसमा ३६ हजार ५ सय ४३ महिला र ४२ हजार ४ सय १० पुरुषको संख्या रहेको छ भने, १ जना तेश्रो लिङ्गीय रहेका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार १६ बर्षदेखि माथिका निर्वाचन कार्यालयमा आफ्नो नाम दर्ता गराउनेहरुको संख्या १ हजार ४८ रहेको छ ।

 

विशेष