जसले ढलबाट अपांगको उद्दार गरिन्
साउन ११ । स्कुलको अन्तिम कक्षा पढेर उनी कोठा फर्किदैं थिइन् । पानी परिरहेको थियो । सधैं ओहोरदोहोर गर्ने बाटो टोलभरीको ढलले हिँड्न सक्ने थिएन ।
पानीले भिजेकी महेन्द्र बौद्ध माविकी ९ कक्षाकी छात्रा सुजाता गोले अर्को बाटो हुँदै बौद्ध गुम्बाको गेटमा निस्केर नयाँ बस्तीस्थित कोठामा जाने सुरमा थिइन् ।
उनीसँगै कक्षाका साथीहरु पनि थिए । अघि बढ्दै गर्दा उनले एक जना मानिस ह्विलचेयरमा ढलको पानीमा डुबेको देखिन् । उनी हातमा बोकेको पुस्तक साथीलाई दिएर हतारिएर ती अपांगता भएका मानिसको उद्धार गर्न अघि बढिन् ।
उनी पुग्नुभन्दा अघिदेखि नै भलको पानीमा अड्किएका ती मानिस र उनको ह्विलचियरलाई चारैतिरबाट मानिसले हेरिरहेका थिए । तर, कोही ढलको पानीमा छिरेको थिएन । गोले हेरेर बस्न सकिनन् ।
उनी ढलमा जुत्ता र पाइन्ट भिजाएर पानीमा फसेका मानिसलाई तान्न अघि सरिन् । ढलको पानीमा ह्विलचियरमा अड्किएका मान्छेले सुरुमा उद्धारका लागि बोलाइरहेका थिए । तर जब सुजाता उनको नजिक पुगिन्, उनले तिमीलाई बोलाएको होइन, तिमी नआउ भन्न थाले ।
‘तर मैले उहाँले भनेको कुरा मानिनँ । मैले जबरजस्ती ह्विलचेयर समाएर तानेँ,’ गोलेले भनिन् । दोलखा मेलुङ गाउँपालिका ४, भेट्पुकी गोले एक वर्षअघि काठमाडौं आएकी हुन् ।
कान्तिपुर