प्रवास

वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिन्छ – उपप्रम महरा

वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिन्छ – उपप्रम महरा

 

काठमाडौँ, १२ साउन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तर मन्त्रालय समन्वयलाई प्रभावकारी बनाएर वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिने बताएका छन् ।

व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा उनले राज्यका निकाय एवं विदेशस्थित नियोगलाई एकीकृत ढंगबाट परिचालन गरेर वैदेशिक रोजगारीमा रहेका श्रमिकका तत्कालको समस्या सम्बोधन गर्ने बताए । उपप्रधानमन्त्री महराले भने, “आजको समस्यालाई बुझेर वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नु नै वस्तुवादी हुन्छ ।”

श्रम तथा रोजगार मन्त्रालयसँग निरन्तर संवाद गरेर उनीहरुको समस्या समाधान गर्न आफू लागिपरेको उल्लेख गर्दै उनले यसका लागि परराष्ट्र, गृह, अर्थ र श्रम मन्त्रालयका प्रतिनिधिसहितको संयन्त्र बनाइसकेको जानकारी दिए ।

उपप्रधानमन्त्री महराले श्रमिकका समस्यालाई तदारुकताका साथ परिणाममुखी बनाउने विश्वास दिलाउँदै “श्रमिकका विषयमा सरकार संवेदनशील र गम्भीर छ,” भने ।

मध्यपूर्वमा काम गर्ने श्रमिकका विषयमा विशेष ढंगबाट सोच्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले खाडी राष्ट्रका नियोग र श्रमसहचारीसहितको सम्मेलन गरेर समस्यालाई सम्बोधन गर्ने सोचका साथ आफू अगाडि बढेको जानकारी गराए ।

उपप्रधानमन्त्री महराले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्यको सहभागिता हुनेगरी मध्यपूर्वमा खटिएका कूटनीतिक नियोग र श्रमसहचारीको समन्वय तथा सेमिनार गरेर श्रमिकका विषयमा तत्काल गर्न सकिने कार्यलाई अगाडि बढाउने दृढता व्यक्त गरे।

तत्काल श्रमिक फिर्ता गर्न नसकिए पनि व्यवस्थित र सुरक्षित बनाउन सरकारले पहल गर्ने विश्वास दिलाउँदै उनले भने, –“त्यस कार्यका लागि सरकारले गम्भीररुपमा पहल गर्नेछ ।”

परराष्ट्रमन्त्री महराले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँगको कूटनीतिक सम्बन्ध अझ सबल बनाउने चर्चा गर्दै सरकारी तहमै श्रम सम्झौता गरेर मात्र श्रमिक पठाइने बताए।

तत्कालका लागि द्विपक्षीय परामर्श संयन्त्र बनाएर समस्याको समाधान गर्ने छ, उनले भने, “संयन्त्र बनाएर काम गर्दा आपसका समस्या पहिचान भई समस्याको समाधान हुन्छ ।”

परराष्ट्रमन्त्री महराले नेपाली नियोगमा रहेका श्रम डेस्कलाई प्रभावकारी बनाइने बताउँदै दीर्घकालमा मुलुकमै औद्योगिक विकास गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।

आफू अर्थमन्त्री हुँदा २०० बन्द उद्योग पुनःस्थापना भएको र ६ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएकाले त्यसलाई निरन्तरता दिनेगरी अगाडि बढ्नुपर्ने बताउँदै उहाँले विदेशमा जाने श्रमिकका लागि स्वदेशमै रोजगार स्थापना गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने र समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने हाम्रो लक्ष्य छ तर त्यो लक्ष्य आजै पूरा हुन नसक्ने बताए ।

बैठकमा गृहमन्त्री जनार्दन शर्माले वैदेशिक रोजारीमा देखिएका नीतिगत कमजोरीलाई सुधार गर्नुपर्नेमा जोड दिदैं वैदेशिक रोजगारीमा भएका ठगीलाई नियन्त्रण गर्न गृहमन्त्रालयले विशेष फोर्स बनाएर काम गर्न लागेको जानकारी दिए ।

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउने भन्दै त्यसका लागि सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर काम भइरहेको जानकारी दिए । उनले वैदेशिक रोजगारीबाट फर्केका महिला पुनः जान चाहेमा अनुमति दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा परराष्ट्रसचिव शंकरदास बैरागीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्नुपर्ने बताउँदै वैदेशिक रोजगारीमा ठगी गर्ने व्यवसायी माथि छानबिन गरी नियोगले किटानी दिइसकेका उपर कारबाही हुनुपर्नेमा जोड दिए । उनले भने, “नेपाली नागरिकको सुरक्षा सरकारको दायिन्व हो, त्यसका लागि सरकारी निकायबीच समन्वय आवश्यक छ ।”

बैठकले वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालयबीच एउटै सफ्टवेर प्रयोग गरेर सूचना आदानप्रदान गर्न, रोजगारसम्बन्धी ऐन परिमार्जन गर्न र कूटनीतिक नियोगलाई निरन्तर नियमन गर्न निर्देशन दिएको थियो ।

विशेष