देश

गाउँमा जाने औषधी लामो समयदेखि जिल्लामै थन्क्याएर म्याद गुर्जेपछि जलाईयो

दीपबहादुर घर्ती

गाउँमा जाने औषधी लामो समयदेखि जिल्लामै थन्क्याएर म्याद गुर्जेपछि जलाईयो

साउन - १२ । जिल्ला जनस्वास्थ्य कार्यालय, जाजरकोटवाट गाउँमा रहेका स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा जाने औषधी जिल्ला सदरमुकाममै थन्क्याएर म्याद गुर्जेपछि वातावरण प्रदुषण हुने गरि जलाईएको छ । गाउँमा जाने औषधीलाई लामो समयसम्म जिल्ला जनस्वास्थ्य कार्यालयमै स्टोर गरेर राखेपछि औषधीको म्याद गुर्जेर जलाउनु परेको हो ।

जाजरकोट अस्पताल तथा जनस्वास्थ्य कार्यालयको हाता भित्रै बिहिवार देखि जलाउन सुरु गरिएको औषधी सुक्रवारसम्म पनि खाल्डोमा जलिरहेको छ । दुई दिनसम्म जलेर नसकिएको म्याद गुर्जेको औषधीहरुमा ट्याब्लेटमा अल्वेण्डाजोल ४८ सय पिस, इन्जेक्सनमा कलोराफेनामिन ३१ सय पिस, इन्जेक्सनमा डम्पेरिडम २८ सय पिस, इन्जेक्सनमा मेट्रो ५५ सय ३१ पिस, ट्याब्लेटमा जिङ चक्की २१ हजार पिस, ट्याब्लेटमा एमोक्सी १९ हजार पिस, सिरफमा सालबुटामोल ५३ पिस, ट्याब्लेटमा बी कमप्लेक्स २७ सय पिस, सिरफमा सिफिजन २५ सय पिस, कण्डम ९४ हजार पिस, ट्याब्लेटमा रेसोनल ४८ हजार पिस, ट्याब्लेटमा फ्रुसेमाइड ५५ सय पिस नस्ट गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले मुचुल्का गरेको छ ।

१२ सय तापक्रममा ईन्सुलेटर मेसिनमा राखेर ओषधी जलाउनु पर्ने प्रावधान भएता पनि जिल्ला जनस्वास्थ्य कार्यालयको गोदाम रहेको घरको आँगनमै खाल्डो खनेर औषधी जलाईएको हो । औषधी जलाएकोे धुवा-धुईरोले दुई दिनसम्म जाजरकोट अस्पताल आसपासको वातावरण निकै प्रदुषित भएको छ । अस्पतालमा उपचार गराउन आएका विरामीहरुको स्वास्थ्यमा उक्त औषधीको धुवा, धुईरोले झनै नराम्रो असर पारेको देखिएको छ ।

जलाईएको औषधी पूरै गाउँमा पठाउनु पर्ने औषधी नभएर जिल्ला अस्पतालका लागि स्टोर गरिएको आषधीको म्याद गुर्जेपछि जलाउनु परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख राम पुकार साहले जानकारी दिएका छन् । उनले जिल्लामा औषधी जलाउनका लागि उक्त ब्यबस्था नभए म्याद गुर्जेको औषधी विभागमा फिर्ता गर्नु पर्ने वताए । म्याद गुर्जेको औषधी विभागमा फिर्ता गर्न नसकिएमा खाल्डो खनेर पुर्नु पर्ने निमित्त जनस्वास्थ्य प्रमुख राम पुकार साहको भनाई रहेको छ ।

२०७२ मंसिर २२ गते मन्त्री परिषदको निर्णयवाट जिल्ला जनस्वास्थ्य कार्यालयवाट छुटिएको जाजरकोट अस्पताल ब्यबहारिक हिसावले विगत तीन महिना पहिला देखि जाजरकोट अस्पतालले कुनै पनि काम जनस्वास्थ्य कार्यालयसंग नगरेको जाजरकोट अस्पतालका निमित्त प्रमुख डा. धर्मराज रेग्मीले वताए । नेपाल सरकारवाट मान्यता पाएको नयाँ अस्पताल भएको हुदा म्याद गुर्जिने गरि जाजरकोट अस्पतालमा औषधी स्टक नहुने निमित्त प्रमुख डा. रेग्मीको भनाई रहेको छ । जाजरकोट अस्पतालमा उपचार गराउन आएका विरामीहरुलाई कहिले काँही अस्पतालमा नभएको औषधी उपचार गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालयसंग माग्दा पनि जिल्ला जनस्वास्थ्य कार्यालयले नदिने गरेको समेत निमित्त प्रमुख डा. रेग्मीले खुलासा गरे ।

जनस्वास्थ्य कार्यालय र अस्पतालसंगै हुदा निर्माण भएका भवन र खरिद गरिएको गाडी समेत जनस्वास्थ्य कार्यालयले अस्पताल प्रयोजनमा प्रयोग गर्न समेत नमानेको निमित्त प्रमुख रेग्मीको भनाई रहेको छ । जाजरकोट अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय बिच चिसिदै गएको सम्बन्धलाई मिलाउनका लागि भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश (सिपी) घर्ती समेत एक पटक बसिसकेको बताईएको छ । जनस्वास्थ्य कार्यालयका भवनहरु बनेको जग्गा भने जाजरकोट अस्पतालको नाममा रहेको जनाईएको छ ।

 

विशेष