कार्यभार सम्हाल्नु अघि गरिबलाई भोजन गराउन पुगिन् मन्त्री चौधरी
साउन १३ । नेकपा संयुक्तबाट जनसंख्या तथा वातावरण मन्त्री बनेकी मिथिला चौधरीले गरिब तथा दीनदुःखीलाई भोजन गराएर कार्यभार सम्हालेकी छन् ।
पशुपतिनाथ मन्दिर पुष्पबाटिका परिसर राजराजेश्वरीमा सञ्चालित निःशुल्क भोजन अभियानमा पुगेर मन्त्री चौधरीले बिहीबार भोजन गराएकी हुन् । पुष्पबाटिकामा एक वर्षदेखि हरेक दिन बिहान निःशुल्क भोजन अभियान सञ्चालन भइरहेको छ । यसअघि पनि चौधरीले भोजनका लागि सहायता गरेकी थिइन् । उनकै पहलमा पुष्प बाटिकामा निःशुल्क भोजन सुविधाजनक बनाउन जस्तापाताको छानासहितको टहरो निर्माण पनि गरिएको छ ।
मन्त्री चौधरीले मानव कल्याणका लागि सञ्चालन भइरहेको निशुल्क भोजनको प्रशंसा गरेकी थिइन् । सो अवसरमा निःशुल्क भोजन अभियानका अभियन्ता दयाराम अग्रवालले मन्त्री चौधरीलाई स्वागत गरेका थिए ।