मेजर सृष्टि खड्का, जो अब नेपाली सेनामा यसरी चिनिन्छिन्
साउन १६ । नेपाली सेनामा पहिलो महिला गुल्मपतिको इतिहास बनाउन सेनानी (मेजर) सृष्टि खड्का सफल भएकी छन् । महिलाहरुलाई मात्र समेटेर पहिलो पटक बनाइएको गुल्मको गुल्मपतिको जिम्मवारी खड्कालाई दिइएको हो । सो गुल्मको नाम गोरखकाली गुल्म राखिएको छ । उपत्यका पृतना भित्र रहने गरी सेनाले महिला गुल्म बनाएको हो ।
४६ बेसिककी महिला सैनिक अधिकृत खड्का २०६१ माघ १७ मा अधिकृत क्याडेटका रुपमा नेपाली सेनामा प्रवेश गरेकी हुन् । पहिलो पोष्टिङ राजदल गणमा भएका खड्काले मनोवैज्ञानिक शाखा, सुदूरपश्चिम पृतना हेडक्वार्टर र राष्ट्रिय सेवा दलमा काम गरिसकेकी छन् । सेनानी खड्काले शान्ति स्थापनार्थ सुडानमा समेत काम गरिसकेकी छन् ।
सेनामा स्टाफ कलेज नगरेकोलाई गुल्मपति नदिने नियम छ । तर महिला गुल्मको हकमा भने त्यो नियम लागू भएको छैन् । यद्यपि, गणपति र गुल्मपति राम्रा र उत्कृष्ठ काम गरेका नन स्टाफ कलेज सैनिक अधिकृतलाई पनि दिने गरेको पाइन्छ ।