समाज

विदेशबाट फर्केपछि माछापालनमा सक्रिय

विदेशबाट फर्केपछि  माछापालनमा सक्रिय

असार २० । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा बसेर फर्किएका युवाले गोरखाको देउरालीस्थित तीन किलोमा र मनकामनाको कल्लेरीमा व्यावसायिक माछापालन सुरु गरेका छन् ।

तीन किलोमा ‘सहारा कृषक समूह’ र मनकामनामा ‘लाफा नमुना’ कृषक समूह गठन गरी युवाले माछापालन, सुँगुरपालन, केराखेती र तरकारीखेती गर्दै आएका छन् ।

सोह्रजना युवक मिलेर सहारा कृषक समूहमार्फत १३ वटा पोखरीमा माछापालन गरिएको समूहका अध्यक्ष सुरज आलेले बताए । यीमध्ये आठजना वैदेशिक रोजगारीमा गएर स्वदेशमै केही व्यवसाय गर्ने अठोटका साथ फर्किएका हुन् । कमन कार्फ, सिल्भर कार्फ, बिग हेड र रघुनौनी जातका माछापालन गरिएको उपाध्यक्ष रमेश थापाले जानकारी दिए ।

त्यहाँ वर्षमा दुई पटक माछा उत्पादन गर्ने गरिन्छ । थापाले भने, “बजारमा पठाउँदा प्रतिकेजी रु ३०० मा पठाइन्छ भने एक दुई किलो बेच्दा प्रतिकेजी रु ४०० पर्छ ।’ आँबुखैरेनी, गोरखा, मनकामना, मुग्लिन, पोखरा, चितवन जस्ता सहरमा माछा बिक्री गर्न लगिन्छ । विदेशमा दुःख गर्दा पनि सोचेजस्तो कमाइ नभएको तर कम दुःखमै स्वदेशमा मनग्य आम्दानी भएको ती युवा बताउँछन् ।

व्यावसायिक कृषि उत्पादनमा जुटेका युवालाई जिल्ला कृषि विकास कार्यालयले पनि केही अनुदान सहयोग उपलब्ध गराएको छ । पोखरी खन्न कार्यालयबाट रु एक लाख ४० हजार प्राप्त भएको थापाले बताए । पोखरीको सङ्ख्या वृद्धि गरी थप माछापालन गर्ने तयारीमा उनीहरु जुटिरहेका छन् । अहिलेसम्म रु ३० लाख भन्दा बढी लगानी भइसकेको छ ।

यस्तै, विदेशबाट फर्किएका युवा कल्लेरीमा पनि लाफा नमुना कृषक समूह गठन गरेर व्यावसायिक कृषि उत्पादनमा जुटेका छन् । समूहमा दश जनामध्ये आठजना साउदी, कतारलगायत देशमा काम गरेर फर्किएका युवा छन् । समूहका अध्यक्ष शिवराना मगरकाअनुसार ६ रोपनी क्षेत्रफलमा नौवटा माछापोखरी, कुखुरापालन, १० रोपनी क्षेत्रफलमा घिरौंला, करेलालगायतका मौसमी बेमौसमी तरकारीखेती र सात रोपनीमा केराखेती गरिएको छ ।

अर्का कृषक झक्कल थापाका अनुसार स्थानीय जातका सुँगुरपालन पनि सुरु गरिएको छ । यस्तै, तरकारीखेती र माछापालन वृद्धि गर्ने तयारी पनि गरिएको छ । उनीहरुमा धनबहादुर थापा र कुलबहादुर थापाले क्रमशः तरकारी खेतीको रेखदेख र कुखुरापालन व्यवसाय हेर्दैआएका छन् । समूहका सदस्यलाई एक एकवटा कामको जिम्मेवारी तोकिएको छ । बजार प्रवद्र्धन गर्ने र हरहिसाब दुरुस्तै राख्ने काम समूहकै सदस्यले गर्छन् ।

सडतीस रोपनी जग्गा भाडामा लिएर युवाले एकवर्ष अघिदेखि कृषि व्यवसाय गर्दैआएका हुन् । थापाले भने, “अहिलेसम्म रु एक करोड लगानी गरिसकियो । विदेशमा कमाएको रकम, मनकामनाको साना किसान वित्तीय संस्थाबाट लिएको रु ५० लाख ऋण र जिल्ला कृषि विकास कार्यालयबाट पाएको अनुदान सहयोगले व्यवसाय अघि बढाउँदैछौं ।”

तरकारीखेती सिँचाइका लागि सौर्य ऊर्जाबाट चल्ने पानी तान्ने मेसिन राखिएको छ । यसका लागि थोपा सिँचाइ कार्यक्रम मार्फत रु ३० हजार र माछापोखरी निर्माणका लागि रु ५० हजार अनुदान कार्यालयबाट उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले जानकारी दिए ।

यसवर्ष ६० वटा पोखरी निर्माण गर्न कार्यालयले अनुदान दिएको थियो । बजारमा माछाको माग बढ्दै गएपछि कृषक व्यवसायिक माछापालनमा जुटेका हुन् । 

Fish Farming

विशेष