समाज

मृत्यु हुँदा पनि राहत रकम दिएन बीमा कम्पनीले

किरण भट्टराई

मृत्यु हुँदा पनि राहत रकम दिएन बीमा कम्पनीले

 

असार - २१ । वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जाने गर्छन् ।

रामेछापको मन्थली पिप्लेका शम्भु बुढाथोकीले चार वर्षअघि विसं २०७० साउनमा वैदेशिक रोजगारीका लागि कुवेत जाँदा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दा पनि त्यस्तै आशा गरेका थिए। तर, आशाअनुरुप उनले समस्यामा पर्दा बीमाबापतको राहत रकम पाएन्न । खाना पकाउने ‘कुक’को जागीरे भई रोजगारीका लागि कुवेत गएको सात महिनापछि उनी पक्षाघातले थलिए । उच्च रक्तचाप अत्यधिक हुँदा मस्तिष्काघात भई उहाँलाई शरीरका सबै अङ्ग नचल्ने पक्षाघात भयो ।

कुवेतमै एक वर्ष उपचार गरे पनि बोल्न र चल्न नसक्ने अवस्थामा नेपाल फिर्ता पठाइएका उनी के कारणले त्यस्तो भयो भन्ने समेत परिवारले अझै भेउ पाउन सकेको छैन ।

उनकी जीवन सङ्गिनी गोमा बुढाथोकीले घटनाबारे सम्झना गर्दै भनिन्, “गएको सात महिना भएको थियो । उहाँले पर्सि रु तीन लाख पैसा पठाइदिन लागेको छु भनेर फोन गर्नुभयो । फोन गरेको अर्को दिन त्यस्तो भएछ ।”

नेपाल आएपछि वीर अस्पतालमा र मन्थलीमा पनि नियमित रुपमा उनलाई स्वास्थ्य जाँच गराइँदै आइए पनि स्वास्थ्यमा कुनै सुधार आएन । टाउकाको पछाडिको भाग चिरेको थियो, घाँटीमा पाइप हालेर तरल पदार्थ मात्रै खुवाइन्थ्यो । नेपाल फर्किएको छ महिनापछि विसं २०७२ भदौ २ गते उनको मृत्यु भयो ।

स्वस्थ रुपमा गएका श्रीमान् त्यो अवस्थामा फर्किएपछि गोमाले धेरैचोटि श्रीमान्सँग के भएको हो भनेर सोध्ने प्रयास गरिन् । तर शम्भुबाट कुनै प्रतिक्रिया आएन । शम्भुको न त शरीरका कुनै अङ्ग चल्थ्यो, न त बोली नै फुट्थ्यो । उनी केवल टोलाएर हेरिरहन्थे, कुनै प्रतिक्रिया दिदैनथे।

शम्भु यस्तो अवस्थामा फर्किएपछि गोमाले बीमारी भएको आधारमा पहिलोपटक र मृत्यु भएपछि पुनः दोस्रो पटक बीमाबापत पाउनुपर्ने रकम माग दाबी गर्दै प्राइम लाइफमा निवेदन दिइन्। तर तीन वर्षदेखिको उनको प्रयासले अझै मूर्त रुप लिन सकेको छैन ।

नियमानुसार उपचार गर्दा पनि कामदार एक वर्षसम्म सुधार नहुने किसिमको घाइते अवस्था बीमा अवधिभित्र भएमा उसलाई बीमाले पूर्ण रकम दिनुपर्छ । तर प्राइम लाइफले बीमा नियमले यस्तो घटनामा दिन नमिल्ने भन्दै क्षतिपूर्तिबापतको रकम नदिएको गोमाले जानकारी दिइन् ।

प्राइम लाइफले पटक/पटक बीमाको पैसा दिन्छु भन्दै उनलाई झुक्याइरह्यो तर अहिलेसम्म दिएको छैन । उनले भनिन्, “बीमाबापतको रकम पाइन्छ कि भनेर तीन/चारचोटि काठमाडौँ गएँ । उल्टै भएको पैसा पनि सकियो ।”

प्राइम लाइफको वैदेशिक रोजगार बीमाको क्षेत्र हेर्दै आएका अधिकृत विमलबहादुर राउतले यो घटनाबारे अनभिज्ञता प्रकट गर्दै प्रक्रिया पूरा भएर आएका सबै घटनामा आफूहरुले बीमाबापतको रकम दिने गरेको जिकिर गरे ।

उनले भने, “वर्षमा हामी रु २० करोड जति वैदेशिक रोजगारमा गएका पीडित र उनका परिवारजनलाई दिँदै आएका छौँ । शम्भुजीको विषयमा केही प्रक्रिया पूरा नभएकाले नपाउनुभएको होला । प्रक्रिया पूरा भए नपाउने कुरै हुँदैन ।”

आफूले बीमा रकम नपाएपछि यो विषयमा गोमाले बीमा समितिमा पनि उजुरी गरिन् । निजी बीमा कम्पनीले त ठग्यो नै सरकारी निकायको रुपमा रहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले समेत उनलाई पूरै क्षतिपूर्ति रकम दिएन । बोर्डबाट उनले ७५ हजार मात्रै पाइन् जबकि उनको जस्तै घटनामा अन्य व्यक्तिले बोर्डबाट तीन लाखसम्म पाएका उदाहरण छन् ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेसँग यो विषयमा सोध्दा उनले ‘यस्तो घटनामा पूरै रकम पाउनुपर्ने हो, किन दिइएनछ, म अफिसमा सोधखोज गर्छु’ भन्ने जवाफ दिए।

शम्भुलाई नेपाल ल्याइएपछि उपचारको क्रममा भैँसीदेखि बारी बेचे पनि निको हुन नसकेको पीडा गोमालाई छ । उनले भनिन्, “एक जनाले झारफुक गरेर सञ्चो पारिदिन्छु भनेर पाँच दिन घरमै आएर बस्यो । भदौ १ गते झारफुक गरेर रु १५ हजार लगेर त्यो मान्छे गयो । अर्को दिन भदौ २ गते उहाँ बित्नुभयो ।”

श्रीमान् कुवेत जाँदा जग्गाको लालपुर्जा धितो राखी एक लाख ऋण लिएर गएको उनले जानकारी दिइन् । श्रीमान्को किरिया गर्दा लागेको ५० हजार ऋण पनि तिर्न अझै बाँकी छ ।

उनका तीन छोरी र दुई छोरा छन् । जेठी छोरीको बिहे भइसक्यो । घरमा रहेकी एउटी छोरी कक्षा १० मा, एउटा छोरा कक्षा ८, अर्की छोरी कक्षा पाँचमा र सानो चार वर्षको छोरा नर्सरीमा पढ्दैछन् ।

बीमाबापतको रकम आए छोराछोरीलाई धेरै पढाउने गोमाको चाहना छ । कान्छो छोरालाई काखमा च्याप्दै आँखाबाट आँसु झार्दै उनले प्रश्न गरिन्, “छोराछोरीलाई धेरै पढाउने मन छ तर, कमाउने मान्छे बित्नुभयो । खान त छ महिनालाई मात्रै पुग्छ, कसरी पढाउने हो हजुर ?”

विशेष