स्वास्थ्य

दश वर्षीया बालिकाको सात किलोको ट्युमर झिकियो

दश वर्षीया बालिकाको सात किलोको ट्युमर झिकियो

 

असार - २१ । प्यूठान भेडाबारीकी १० वर्षीया शीला नेपालीको आठ महिनाको उमेरदेखि पेटमा बढेको सात किलोको ट्युमर कान्ति बाल अस्पतालमा शल्यक्रिया गरी झिकिएको छ ।

तीन घन्टाको समय लगाएर वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक सर्जन प्रा डा आरपी चौधरीको समूहले मङ्गलबार शीलाको शल्यक्रिया गरेको हो । पेटमा पछाडिबाट पलाएको उक्त ट्युमरलाई चिकित्सकीय भाषामा रोट्रोपेरिटोनियल टेराटोमा भनिन्छ ।

सर्जन चौधरीका अनुसार अहिले बिरामीका अवस्था खतरामुक्त भए पनि विशेष हेरचाहको आवश्यकता रहेको बताए ।

“पेटमा हुने ट्युमरमध्येको यस्तो खालको ट्युमर १०० जनामा दुई जनामा मात्र हुन्छ, २५ किलो तौल भएकी उनको पेटमा सात किलोको ट्युमर थियो, सो शल्यक्रिया जोखिमपूर्ण र जटिल थियो, अहिले उक्त मासुको जाँच गर्न पठाइएको छ, क्यान्सरको पनि जोखिम भएकाले मासुको रिपोर्टमा बाँकी उपचार निर्भर रहेको छ ।”

चिकित्सकका अनुसार आठ महिनाकै उमेरमा शीलाको शल्यक्रिया गर्न सकिन्थ्यो तर मासु बढेर ठूलो हुँदै जाँदा अन्य रोगको जोखिम बढ्ने, शल्यक्रिया पनि जोखिमपूर्ण रहेको थियो । हरेक वर्ष कान्तिबाल अस्पतालमा करिब ३० बालबालिकाको ट्युमरको शल्यक्रिया हुने भए पनि आफ्नो चिकित्सकीय अनुभवमा १० वर्षको बच्चाको सात किलोको ट्युमरको शल्यक्रिया पहिलो पटक गरेको डा चौधरीले अनुभव सुनाए ।

गर्भावस्थादेखि नै नियमित जाँच गराउने र कुनै समस्या देखिएमा तुरुन्तै उपचार गराउन सकेमा भविष्यमा ठूलो जोखिम नहुने डा चौधरीको भनाइ छ ।

विशेष