समाज

बाग्मतीको मुहानमै अप्रशोधित पानी वितरण, स्थानीयवासीको गुनासो

बाग्मतीको मुहानमै अप्रशोधित पानी वितरण, स्थानीयवासीको गुनासो

 

असार - २१ । उपत्यकामा सबैभन्दा बढी खानेपानी निर्यात गर्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सुन्दरीजलको प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) जीर्ण बनेको छ ।

विसं २०२३ मा भारत सरकारको सहयोगमा निर्माण भएको यो प्रशोधन केन्द्रमा ५१ वर्षे अवधिमा सानातिना मर्मत मात्र गरेर चलाउँदै आएकाले जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको लिमिटेडले जनाएको छ ।

दैनिक दुई करोड १० लाख लिटर पानी सुन्दरीजलमै प्रशोधन गरेर वितरण गरिन्छ भने दुई करोड ६५ लाख लिटर पानी पाइपबाट महाङ्कालचौर शाखा ल्याएर प्रशोधन गरिन्छ । प्रशोधित पानी वर्षायाममा निरन्तर पठाइने र सुक्खायाममा दैनिक चार/पाँच घन्टा र अझ पानीको सतह घटेका बेलामा दैनिक दुई/तीन घन्टा पानी निर्यात गरिने गरेको लिमिटेडका प्रवक्ता सुरेश आचार्यले बताए।

सुन्दरीजलबाट पानी लगिएका फलामका २० इन्चका दुई वटा पाइप पनि जीर्ण भएर ठाउँठाउँमा पानी चुहिने समस्या छ । यसले गर्दा दैनिक हजारौँ लिटर पानी चुहावट भइरहेको छ । सुन्दरीजलका पानी खोल्ने र बन्द गर्ने ठूलाठूला भल्भ नै जीर्ण भएको लिमिटेडका कम्पनी सचिव मिलनकुमार शाक्यले स्वीकार गरे।

खानेपानी लैजाने यन्त्रलाई पानीमा प्रयोग गरिने रासायनिक पदार्थले खाएर जीर्ण बनाउने र पाइपमा खिया लाग्ने समस्या रहेको पनि उनको भनाइ छ । मुख्य पानीको स्रोत रहेको सुन्दरीजलका संरचना जीर्ण हुँदा पानी प्रशोधन र वितरणमा असर पुगेकाले १० करोडको लागतमा पुनःनिर्माण गर्न महादेव/खिम्ती/कालिका जेभीलाई ठेक्का दिइएको प्रवक्ता आचार्यले जानकारी गराए।

एक वर्षभित्र जीर्ण प्रशोधन केन्द्र पुनःनिर्माण गरिसक्ने लिमिटेडको लक्ष्य छ । प्रशोधन केन्द्र पुनःनिर्माण भइसकेपछि सुन्दरीजलबाट निर्यात हुने पानी दैनिक हजारौँ लिटर बढ्नेछ । बाग्मतीको मुहान सुन्दरीजलमा प्राविधिक कर्मचारीको कमीले गर्दा काम सञ्चालनमा बाधा पुगेको छ । पहिले एक समूहमा पाँच जना कर्मचारी हुने गरेकामा अहिले तीन जना मात्र छन् । सुन्दरीजलको प्रशोधन केन्द्र पुनःनिर्माण भइसकेपछि दैनिक दुई करोड २० लाख लिटर पानी प्रशोधन हुनेछ ।

प्रशोधन केन्द्र बन्नुअघि जीर्ण केन्द्रबाट आएको पानी सिधै नपिउन प्रवक्ता आचार्यले सुझाव दिएका छन् ।

प्रशोधन केन्द्रसँगै बाहिरी पर्खाल (कम्पाउन्ड वाल), पानी पोखरी (रिजभ्र्वाएर) र चुहावट रोकथाम (लिकेज कन्ट्रोल) पनि गरिने लिमिटेडले जनाएको छ । पुनःनिर्माण र मर्मत सम्भारको काम सकेपछि गुणस्तरीय पानी वितरण गर्न सकिने लिमिटेडले आशा गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे पानी पठाउने मुहानस्थलका मानिसले नै गुणस्तरीय पानी पिउन नपाएको लिमिटेड, खानेपानी तथा ढल निकास विभाग र खानेपानी तथा सरसफाइ मन्त्रालयमा राखिएको बताउछन् ।

खानेपानीको गुणस्तर हेर्ने जिम्मेवारी पाएको खानेपानी महसुल निर्धारण आयोगका अध्यक्ष सुन्दरीजलबाटै वितरण हुने पानी अहिले पिउन नसकिने अनुगमनका क्रममा देखिएको बताउछन् । गुणस्तरीय पानी वितरणको व्यवस्था मिलाउन लिमिटेडलाई दुई वर्षअघिदेखि निर्देशन दिए पनि अटेर गरेको उनको गुनासो छ ।

दैनिक सुन्दरीजलमा प्रशोधन भएको पानी उपभोग गर्दै आएका जोरपाटीका अनिल पराजुली धारामा धान रोप्ने गराबाट पठाएको जस्तो धमिलो पानी आउने गरेको दुःखेसो पाेख्छन्। छहारी शिक्षा सदनका प्रधानाध्यापक समेत रहेका पराजुली लिमिटेडले प्रशोधन गरी पठाएको पानी पिएर विद्यार्थी बिरामी भएको बताउछन्

विशेष