देश

गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएपछि पत्रकार महासंघको सदस्यता त्याग

गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएपछि पत्रकार महासंघको सदस्यता त्याग

असार - २३ । बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले नेपाल पत्रकार महासंघको सदस्यता त्याग गरेको घोषणा गरेका छन् । २०६४ सालमा महासंघको सदस्यता प्राप्त गरेका शाह गोरखापत्र दैनिकको जाजरकोट संवाददाताको रुपमा केही समय काम गरेका थिए ।

रेडियो जाजरकोटका संस्थापनक स्टेशन मेनेजर समेत रहेका शाह ग्रामिण विकास मासिकको सम्पादक समेत हुन । जनप्रतिनिधि भैसकेपछि नैतिकताको आधारमा महासंघको साधारण सदस्यबाट राजिनामा दिएको उनले बताए । ‘म पत्रकार महासंघकोे सदस्य नरहे पनि पत्रकार र पत्रकारिता पेशा प्रति मेरो सधै गहिरो सम्बन्ध रहनेछ’,उनले भने–‘जिल्लाको पत्रकारीता विकासको लागी जनप्रतिनिधीको तर्फबाट खेल्नु पर्ने भुमिकामा म सधै कटिबद्ध रहनेछु ।’

पत्रकार महासंघ र प्रेस युनियनमा आवद्ध नेपाली काँग्रेसबाट बारेकोट गाँउपालिकाको अध्यक्षमा निर्वाचित शाहबाट बारेकोटवासीले विकासको ठुलो आशा र भरोसा गरेका छन् । कर्णालीसँग सिमाना जोडिएको बारेकोट गाँउपालिकामा सडक यातायात, विजुली र सञ्चारको विकास गर्नु नै पहिलो प्राथमिकता भएको शाहको भनाई छ ।

बारेकोट गाँउपालिकाका अध्यक्ष शाहले पत्रकार महासंघको साधारण सदस्यबाट राजिनामा दिएको प्रति उनलाई सवैले धन्यवाद दिईरहेको बेला पत्रकार महासंघका साधारण सदस्य रहेका छवि पन्त त्रिवेणी नलगाड नगरपालिकाको मेयर र दिपेन्द्र शर्मा कुशे गाँउपालिका वडा नं ३ को वडा अध्यक्षमा चुनाव लडेका थिए । उनी दुवै जना पराजित भएका छन् ।

चुनावमा पराजित शर्मा पुनः पत्रकारीता पेशामा फर्कि सकेका छन् भने, छवी पन्तले सदस्यता त्यागे नत्यागेको कुनै प्रतिक्रिया दिएका छैनन् ।

विशेष