सानी विपनाको ठूलो सपना ! (भिडियोसहित)
असार २३ । विपना शर्मा, नवलपरासीको सुनवल नगरपालिकामा बस्छिन् । बालबालिकाको क्षेत्रमा काम गर्ने विपनाको काम देखेर विभिन्न संस्थानले उनलाई पुरष्कृत गरेका छन् । सुनवल नगरपालिका नेपालको पहिलो बाल मैत्री नगरपालिका पनि हो ।
स साना बालबालिकाले अरुको घरमा भाँडा माझेको, होटलमा बालबालिकाले नै काम गरेको देखेपछि विपनालाई बालअधिकारको पक्षमा काम गर्ने इच्छा उत्पन्न भएछ । छ वर्षदेखि बालअधिकारको पक्षमा काम गरिरहेकी विपना आफ्नै साथीका कारण यस क्षेत्रमा प्रवेश गरिन् । उनकै एक साथीलाई पढ्न मन थियो, तर उनी काम गर्नु पर्ने अवस्थामा थिइन । अनि उनले बालबालिकाल पढ्न पाउनु पर्छ भनेर ११ वर्षको उमेरमा बालक्लब स्थापना गरिन् ।
तर बालक्लबमा आवद्ध अरु सदस्यका अभिभावकहरुले आफ्ना सन्ताल क्लबमा आबद्ध भएको मन पराएनन् । ती दिन सम्झँदै उनी भन्छिन्, ‘म सबै साथीहरुको घरमा गएँ । आफै साँक्षी बसेर उनीहरुलाई बालक्लवमा काम गर्ने वातवरण सिर्जना गरेँ । त्यो बेला धेरै गाह्रो भयो ।’
देउसी भैली खेलेर बालक्लबले केही पैसा आर्जन गर्यो । पहिलो बालक्लबपछि विपनाको अगुवाइमा सुनवलमा ११७ वटा अरु बालक्लब गठन भए । उनी जो साथीलाई देखेर बालअधिकारको क्षेत्रमा लागेकी थिइन्, उनलाई पनि छात्रवृत्ति उपलब्ध गराएर पढ्ने बातावरण तयार पारिन् । नगरपालिकाले अहिले १५ प्रतिशत बजेट छुट्टयाउने निर्णय गरेको छ ।
१५ –१६ वर्षकी विपना आफै अहिले पनि बालिका नै हुन् । तर उनका कुरा सुन्दा, बालिबालिका बोले झै लाग्दैन । उनी निक्कै परिपक्व विचार राख्छिन् । विपनाका सपना सबै बालबालिकाले पढ्न पाऊन् भन्ने छ ।
उनीसँग नेपालआजले गरेको कुराकानी भिडियो लिंकमा हेर्न सकिन्छ ।