स्वास्थ्य

१० महिनामा ९ सय २५ महिलाद्वारा गर्भपतन

१० महिनामा ९ सय २५ महिलाद्वारा गर्भपतन

 

असार - २४ । सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ ।

आर्थिक वर्ष ०७१/०७२ मा जिल्लामा चार सय ५४ जनाले सुरक्षित गर्भपतन गराएकोमा आव ०७२/०७३ मा यसमा वृद्धि भई एक हजार पुगेको छ । चालु आवको पहिलो १० महिनामा नौ सय २५ महिलाले सुरक्षित ढङ्गबाट गर्भपतन सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

इलाम अस्पतालसहित जिल्लाभरी १८ वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित गर्भपतन सेवा सञ्चालन भईरहेको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयबाहेक मेरीस्टोप्स सेन्टर, नेपाल परिवार नियोजन सङ्घले पनि सुरक्षित गर्भपतन सेवा प्रवाह गरिरहेका छन् । असुरक्षित गर्भपतनले कतिपय अवस्थामा महिलाको ज्यानै समेत जाने भएकाले सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्नु भनेको यस क्षेत्रका महिलामा सुरक्षित गर्भपतन सम्बन्धी चेतना बढ्नु हो, जनस्वास्थ्य प्रमुख मल्लले बताए ।

नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ ।

पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा सञ्चालन भएकोले पनि स्वास्थ्य संस्थामा सेवा लिन आउनेको सङ्ख्या बढेको जनाएको छ ।

विशेष