देश

बकेर्नु भैँसीपालनतर्फ कृषक आकर्षित

बकेर्नु भैँसीपालनतर्फ कृषक आकर्षित

 

असार - २४ । पाल्पा जिल्लामै पहिलो पटक सञ्चालनमा आएको बकेर्नु भैँसीपालनतर्फ कृषकको आकर्षण बढेको छ ।

पशुसेवा विभाग पशु उत्पादन निर्देशनालयबाट स्वीकृत कार्यक्रम जिल्ला पशुसेवा कार्यालयको मातहतमा गत वर्षदेखि सञ्चालन भएको हो । लोप हुनलागेका बकेर्नु भैँसी संरक्षण गर्ने उद्देश्यले पशुसेवा कार्यालयले रामपुरस्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थासँग साझेदारी गरेर कार्यक्रम सञ्चालन गरेको हो ।

पहिलो चरणमा सहकारीमा आवद्ध २५ जना कृषकलाई छनोट गरी सो कार्यक्रम सुरु गरिएको हो । उक्त कार्यक्रममा यहाँका कृषकको आकर्षण बढ्दै गएपछि यस वर्ष पुनः दोस्रो चरणमा सोही सहकारीमार्फत कार्यक्रम सुरु गरिएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक डा उत्तम आचार्यले जानकारी दिए । यस वर्ष सहकारीका आठजना कृषकलाई छनोट गरेर कार्यक्रम सञ्चालन गरिएकोे छ ।

बकेर्नु भैँसी संरक्षण कार्यक्रममा छनोट कृषकलाई प्रतिव्यक्ति २५ हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ । उत्पादन दिँदासम्म पाल्ने र उत्पादन दिन छाडेपछि बर्केर्नुका रुपमा बिक्री गर्ने हुँदा जिल्लामै बर्केर्नु भैँसीको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

रामपुर क्षेत्रमा कृषकको माग अत्यधिक रहेको पशुसेवा केन्द्रका प्रमुख मोहनप्रसाद भट्टराईले बताउनुभयो । संरक्षण कार्यक्रमअन्तर्गत छनोटमा परेका एउटा कृषकले कम्तीमा दुईवटा बर्केर्नु भैँसी अनिवार्य रुपमा पाल्नुपर्ने नियम छ । यहाँका कृषकले दुईदेखि पाँचवटासम्म बर्केर्नु भैँसी पाल्दै आएका छन् । बर्केर्नु भैँसी पाल्ने कृषकलाई अनुदान रकमको साथमा गोठ सुधार, पशु आहारा, औषधि उपचारलगायत सेवा सुविधा उपलब्ध गराइरहेको कार्यालयले जनाएको छ । 

विशेष