समाज

सिन्धुली ३६औँ साक्षर जिल्ला घोषणा

सिन्धुली ३६औँ साक्षर जिल्ला घोषणा

 

असार - २४ । सिन्धुली जिल्लालाई आज ३६औँ साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका सवै नागरिक साक्षर भएकाले जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । 

वि सं. २०६७ को सर्वेक्षण तथ्याङ्कअनुसार जिल्लामा ४७ हजार ८८६ महिला र २५ हजार ७२९ पुरुष गरी कुल ७३ हजार ६१५ जना निरक्षर रहेकामा अहिले आएर ९९ दशमलव २१ प्रतिशत महिला र ९८ दशमलव ९७ प्रतिशत पुरुषलाई साक्षर बनाइसकिएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ ।

सरकारी तथा गैर सरकारी क्षेत्रको समन्वयमा सञ्चालन गरिएको साक्षरता अभियानअन्तर्गत जिल्लामा ९९ दशमलव १३ प्रतिशत साक्षर रहेको जिल्ला शिक्षा अधिकारी केदारकुमार गिरीले जानकारी दिए । 

सिन्धुलीलाई साक्षरता जिल्ला बनाउनका लागि यहाँ ४२ वटा सामुदायिक सिकाई केन्द्रले जिल्लाभर कक्षा सञ्चालन गरी निरक्षरलाई साक्षर बनाएको जिल्ला शिक्षा अधिकारी गिरीले बताए। 

घोषणासभामा व्यवस्थापिका–संसद्का कृषि तथा जलस्रोत विकास समितिका सभापति मोहनप्रसाद बरालले अबको शिक्षा प्रणालीलाई सिर्जनशील र उद्यमशील बनाउनुपर्ने बताउँदै समाजको आवश्यकताअनुरुप शिक्षा नीति परिमार्जन गर्नुपर्ने धारणा व्यक्त गरे । 

सांसद गणेशकुमार पहाडीले शिक्षक र विद्यालय व्यवस्थापन समितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको चर्चा गर्दै सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्नका लागि सरकारले लगानी गरेको भएपनि शिक्षक र अभिभावकबाटै राम्रो जिम्मेवारी बहन गर्न नसक्दा सामुदायिक विद्यालयको गुणस्तर उकास्न नसकेको बताए । 

अनौपचारिक शिक्षा केन्द्रका प्रमुख चुडामणि पौडेलले साक्षरता जिल्ला घोषण भएपनि निरन्तर रुपमा यहाँ साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए ।

विशेष