देश

पहिराका कारण घर जोखिममा

पहिराका कारण घर जोखिममा

 

असार - २५ । लमजुङ सदरमुकाम बेँसीसहरमा पहिराका कारण तीन घर जोखिममा परेका छन् । बेँसीसहर मजुवाखोलादेखि तल्लो सेरातर्फ जाने सडकमाथिको भाग भासिँदा तीन घर जोखिममा परेका हुन् ।

बेँसीसहर– ८ सेराका देवीलाल श्रेष्ठको पक्की ढलान घर, मैयाँ दुलाल र शोभा सुनारको घर जोखिममा परेको हो । सडक निर्माणका क्रममा ग्याबिन वा पर्खाल लगाउनुपर्ने भए पनि अहिलेसम्म नलगाउँदा त्यहाँका घर जोखिममा परेका हुन् ।

पहिराले घर जोखिममा परेको जानकारी पाएलगत्तै प्रजिअ, स्थानीय विकास अधिकारी र प्रहरी नायब उपरीक्षकको टोलीले स्थलगत अनुगमन गरेको थियो । जोखिममा रहेका घरलाई सुरक्षित गर्न पहिरो गएका ठाउँमा पर्खाल लगाउन निर्देशन दिइने प्रजिअ युवराज मैनालीले बताए ।

१० झोलुङे पुल थप

चालु आवमा मात्रै १० झोलुङ्गे पुल थपिएका छन् । पुल थपिएसँगै जिल्लामा झोलुङ्गे पुलको सङ्ख्या एक सय ९२ पुगेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आवमा झन्डै तीन करोडभन्दा बढी रकम झोलुङ्गे पुल निर्माणको लागि खर्च गरिएको छ ।

प्राविधिक कार्यालयका इ श्रीप्रसाद गुरुङका अनुसार चालु आवमा १० झोलुङ्गे पुल निमार्णका लागि दुई करोड ९६ लाख ४२ हजार ७८८ खर्च भएको छ ।

चालु आवमा चिली खोला भलायखर्क– ९, दोर्दी खोला चिती –३, तारबाली खोला घेर्मु –३, किरिञ्चे खोला चन्द्रेश्वर –३, राम्चे खोला नाल्मा, खन्ग्रेखोला राइनास –११, रुदी खोला मिजुरे लमजुङ/कास्की, पैयुँ खोला घनपोखरा– ७ र चेपे खोला इलमपोखरी–५ लगायत स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको हो । 

विशेष