देश

शिक्षण पेशा छाडेर माछापालन व्यवसायमा

शिक्षण पेशा छाडेर माछापालन व्यवसायमा

 

असार - २५ । पाल्पाको तानसेन नगरपालिका– ७ का महेश्वर पन्त एक सफल माछापालन व्यवसायीका रुपमा चिनिन्छन् । उनी जागिर छोडेर यो व्यवसायमा लागे।
तीन वर्षअघि शिक्षण पेशा त्यागेर माछापालन व्यवसायलाई दिगो र आम्दानीको मुख्य स्रोत बनाएका पन्तले हाल नौ रोपनी जग्गामा माछापालन व्यवसाय गर्दै आएका छन् ।

उनको पाँचवटा पोखरीमा सात हजार मूल्य बराबरको माछा छन् । माछा बिक्री गरेर पन्तले एक वर्षमा खर्च कटाएर तीन लाख बराबरको आम्दानी गर्छन् । उनको पोखरीमा कमन कार्प ,सिल्भर कार्प, रघु, नैनी, बिगेट जातका माछा छन् ।

पोखरीबाटै प्रतिकिलो रु चार सयमा माछा बिक्री भइरहेको छ । कृषि विकास कार्यालयले व्यवसायका लागि अनुदानमा माछा पोखरी निर्माणमा एक लाख २१ हजार अनुदान, अक्सिजन दिने मेसिन खरिदका लागि ६० हजार, दुईवटा जाल र माछाको आहारका लागि दाना सहयोग गरेपछि व्यवसायमा झनै हौसला मिलेको उनले बताए।

विभिन्न अवलोकन भ्रमण, तालिममा सहभागी भएका उनले १३ रोपनी जग्गामा माछापालन व्यवसाय गरेर वार्षिक रुपमा रु सात लाख बराबरको आम्दानी गर्ने सोच बताए।

सोही ठाउँकै खड्गबहादुर थापाले पनि माछापालन व्यवसाय थालेपछि उहाँको आम्दानी पनि बढ्दै गएको छ ।

सैनिक सेवाबाट अवकाश भएपछि थापाले आफ्नै छ रोपनी जग्गामा माछा पालेर मनग्य आम्दानी गर्दै आएका हुन् । माछाबाट एक वर्षमा दुई लाख जति जाहो गर्ने उनले भने,“लामो समयसम्म देशको सेवक भएर काम गरियो, “ व्यावसायिक कृषक भएर माछापालनमा लाग्दा बल्ल अहिले निकै रमाइलो महसुस भइरहेको छ” ।

त्यस्तै अर्का माछा व्यावसायी बलबहादुर थापा सरकारी जागिर भन्दा यो व्यवसाय नै राम्रो लागेको बताउछन् । उनले पनि नेपाली सेनाबाट अवकाश भएपछि माछापालन व्यवसाय सुरु गरेका हुन्।

थापा भन्छन्,“जागिरे जिन्दगी बन्धनमै बित्छ, घरमै बसेर व्यवसाय गरे स्वतन्त्ररुपमा जीवन जिउन पाइने हुँदा अहिले जागिरे जीवन सम्झेर निकै पछुतो लाग्छ । ”

विशेष