समाज

बाढी प्रतिकार्यका लागि कञ्चनपुरमा कार्यदल तयारी अवस्थामा

बाढी प्रतिकार्यका लागि कञ्चनपुरमा कार्यदल तयारी अवस्थामा

 

असार - २५ । बाढी प्रतिकार्यका लागि सामुदायिक विपद् व्यवस्थापन समितिअन्तर्गत गठन गरिएका कार्यदललाई कञ्चनपुरमा सतर्क अवस्थमा राखिएको छ ।

बाढीका बेला बचाउ र राहतका लागि समितिअन्तर्गत गठन भएका पूर्वसूचना कार्यदल, उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदललाई सर्तक अवस्थामा राखिएको हो । दोदा, सुनवोरा, स्याली, मछेली वनहरालगायत नदी तटीय क्षेत्रका बासिन्दालाई बाढी आउन अगावै सुरक्षा दिन कार्यदलका सदस्य सचेत गर्ने कार्यमा जुटेका छन् ।

बाढीका कारण तटीय क्षेत्रका बासिन्दाको जीउधन, जग्गा कटानी र बालीनालीमा नोक्सानी हुँदै आएको छ । डुबानमा पर्न सक्ने र बाढीको उच्च जोखिममा पर्न सक्ने बासिन्दालाई सघाउ पु¥याउन कार्यदल गठन गरिएको हो । जिल्लामा गठन भएका १५ वटा समितिअन्तर्गत गठित पूर्वसूचना कार्यदलका तीन, खोज तथा उद्धार कार्यदलका पाँच र प्राथमिक उपचार कार्यदलका तीन जनालाई तालिम प्रदान गरी बाढीको जोखिम हुन सक्ने क्षेत्रमा तयारी अवस्थामा राखिएको छ ।

आपत्कालीन सञ्चालन केन्द्र र जल तथा मौसम विभाग फिल्ड कार्यालय अत्तरियाको सम्पर्कमा रहेर कार्यदलका सदस्यहरुले कार्य गर्ने व्यवस्था गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाका अधिकृत महेश घिमिरेले बताए।

परियोजनाअन्तर्गत कार्यदलका सदस्यलाई कृत्रिम नमुना अभ्याससँगै लाइफ जाकेट, स्टे«चर, डोरी, ट्युब, साइरन मेसिन, प्राथमिक उपचारका लागि आवश्यक सामग्री उपलब्ध गराइएको उनले बताए । “बाढी प्रभावित समुदायमा बाढी पूर्वतयारीका लागि क्षमता अभिवृद्धिका तालीम र आवश्यक सामग्री प्रदान गरी समुदायस्तरमा जनचेतना र पूर्वतयारीका लागि नमूनाका रुपमा कृत्रिम घटना अभ्यास गराएका छौँ” – अधिकृत घिमिरेले भने । अभ्यासबाट बाढीको समयमा कसरी सुरक्षित रहने, सूचना प्रवाह कसरी गर्ने, प्राथमिक उपचार कसरी गर्ने, आवश्यकीय सामग्रीको तयारी कसरी गर्ने, घाइते तथा बिरामीलाई कसरी सुरक्षित स्थानसम्म लैजाने जस्ता विषयमा प्रस्ट जानकारी गराइएको उनको भनाइ रहेको छ ।

कार्यदलले सुरक्षित बाटो र स्थानको पहिचान गरी जोखिममा रहेका व्यक्तिको विवरण नक्शाङ्कन र घरधुरी सर्वेक्षणबाट लिने कार्य पूरा गरेका छन् । समुदायमा विपद्को बेलामा प्रभावित व्यक्तिलाई तत्कालको राहत प्रदान गर्न खानेकुराका लािग समुदायमा आपत्कालीन कोष खडा गरिएका छन् । ठाउँ ठाउँ खानेपानीका लागि सुरक्षित धारा र सेफ हाउससमेत निर्माण गरिएका छन् ।

विशेष