स्वास्थ्य

चिकित्सकको सुझावः पानी उमालेर मात्र पिउँ

चिकित्सकको सुझावः पानी उमालेर मात्र पिउँ

 

काठमाडौँ, २५ असार । वर्षा लागेसँगै पानीका मुहान दूषित हुने जोखिम बढेकाले पानी उमालेर मात्र पिउन चिकित्सकले सुझाव दिएका छन् । 

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र सन्जीवनी हेल्थ मिडियाले अाइतबार आयोजना गरेको ‘महामारी रोग र स्वास्थ्य सेवा’ विषयको अन्तरक्रियामा वर्षायाममा सरुवा रोगको महामारी फैलने हुँदा पानी उमालेर मात्र पिउन आग्रह गरियो । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले सिधै मुहानबाट ल्याइएको मात्र नभई किनेर ल्याइएको जारको पानी पनि उमालेर मात्र प्रयोग गर्न आग्रह गरे । हरेक वर्ष गर्मी र वर्षातमा उपत्यकामा हैजा र झाडापखालाका बिरामीको सङ्ख्या बढ्नुको मुख्य कारण दूषित पानी भएको उनको भनाइ छ । 

काठमाडौँमा किनेर पिउने ५० प्रतिशत जारको पानीमा कोलीफर्म देखिएकाले किनेको पानी पनि विश्वसनीय नभएको उनले बताए। 

टेकु अस्पतालका अनुसार झाडापखाला, टाइफाइड, हैजा तथा बान्ता हुने, रुघाखोकीले आउने बिरामी बढेका छन् । डा पुनका अनुसार झाडापखालासँगै उपत्यकामा करिब १६ जनामा सिगेला ब्याक्टेरिया (आँउ गराउने ब्याक्टेरिया) समेत देखिएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकामा हैजाको जोखिम सधैँ रहेकोले हैजा, झाडापखालासँगै हेपाटाइटिस ए, टाइफाइडजस्ता सरुवा रोगको पनि खतरा रहेको बताए । 

उपत्यकामा महामारी नियन्त्रण गर्न स्वास्थ्यसँग सम्बन्धित निकायको मात्र नभई खानेपानी संस्थानको पनि जिम्मेवारी रहेको भन्दै प्रमुख श्रेष्ठले भने, “खानेपानी संस्थानले शुद्ध पानी वितरण गर्नुपर्छ, जनशक्ति अभाव, औषधि, जीवनजलको अभाव भएमा हामी जवाफदेही हुनुपर्छ ।” 

जिल्ला जनस्वास्थ्यका फोकल पर्सन धु्रव अधिकारीले उपत्यकाका अस्पतालमा झाडापखाला र हैजाका बिरामीको तथ्याङ्क सङ्कलन गर्न स्वास्थ्यकर्मी खटाएको जानकारी दिए ।

विशेष