मुख्य समाचार

प्रहरीमा स्पष्टीकरण आतंक, एसपी, एसएसपी नै स्पष्टीकरणमा तानिए

प्रहरीमा स्पष्टीकरण आतंक, एसपी, एसएसपी नै स्पष्टीकरणमा तानिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालमा प्रहरी पोशाकमा तस्वीर राख्ने जवानदेखि उच्चपदस्थ प्रहरी अधिकारीमाथि स्पष्टीकरण सोधेको छ ।

प्रधान कार्यालयले यसअघि आफूले दिएको निर्देशन पालना नभएको भन्दै स्पष्टीकरण सोधेको हो । हालसम्म ५० भन्दा बढी प्रहरी अधिकारीमाथि स्पष्टीकरण सोधिएको प्रहरी मुख्यालय नक्सालले जनाएको छ । गृहमन्त्री जनार्दन शर्माको विशेष चासोमा यो प्रक्रिया अगाडि बढाइएको हो ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले युनिफर्मसहितको तस्वीर राख्ने एसएसपी, एसपी र डीएसपीसहितका प्रहरी अधिकृतमाथि २४ घण्टे स्पष्टीकरण सोधेर कारवाही प्रक्रिया अगाडि बढाएको हो । एसपी डा. गणेश रेग्मीद्वारा हस्ताक्षरित पत्रमा सामाजिक सञ्जालमार्फत् आचारसंहिता उल्लंघन गरेकाले स्पष्टीकरण सोधिएको उल्लेख छ । स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआए उनीहरुमाथि विभागीय कारवाही हुनेछ ।

युनिफर्मसहितको तस्वीर राख्नेमा हालै बढुवा भएका प्रहरी अधिकृत बढी छन् । स्पष्टीकरण खानेमा हालै बढुवा भएका एसएसपीहरु देवबहादुर बोहरा, उत्तम सुवेदी, दिववस लोहनी र रवीन्द्र धानुक, एसपीमा बढुवा भएका ईश्वर कार्की र डीएसपीमा बढुवा भएका गङ्गाबहादुर थापा, छेदिलाल कामती, नवीन कार्की र रुपक खड्कालगायत छन् ।

प्रहरी प्रधान कार्यालयले २०७३ वैशाखबाट कोही पनि अधिकृत वा जवानलाई फेसबुकमा युनिफर्मसहितको फोटो पोस्ट गर्न वा प्रोफाइल तस्वीरमा नराख्न निर्देशन जारी गरेको थियो ।

विशेष