प्रवास सफलताको कथा

एउटा मान्छेको मायाले कति फरक पार्दछ अमेरिकामा

एउटा मान्छेको मायाले कति फरक पार्दछ अमेरिकामा

केही दशक पहिले अमेरिका यस्तो थियो नेपाली देख्न मुस्किलले पाइन्थ्यो । अहिले यस्तो छः नेपाली देख्न नपाइने टोल सायदै छ । नेपाली बिद्यार्थीको आवागमन, डिभी भिषा र बिजनेस भिषाका कारण नेपालीको संख्या दिन दुई गुना र रात चौगुनाको हिसाबले बढ्दो छ । र, सम्भवतः सबैभन्दा धेरै नेपाली अमेरिकाको टेक्सासमा छन् जहाँ नेपालीको चहल पहल मिनी नेपालजस्तो देखिने गर्दछ ।

यसरी चहल पहल बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छः नेपाली समाज टेक्सासले । सो समाजको नेतृत्वमा गोरखाका कृष्ण लामिछाने आएसँगै नेपाली समुदायका गतिविधि ह्वात्तै बढेका छन् । अमेरिकामा पीरमर्कामा परेका नेपालीलाई सहयोग गर्ने अभियानदेखि स्वदेशमै भूकम्प र बाढीजस्ता विपतमा परेकालाई सहयोग गर्ने कदमका कारण नेपाली समाज टेक्सास अमेरिका र नेपालमा चर्चित छ ।

लामिछानेको व्यक्तित्वले समाजको बृहत्तर भूमिकाका लागि विशेष योगदान गरेको जानकारहरु बताउँछन् । सरल, शालिन तर दृढ स्वभावका लामिछानेका कारण करोडौँ रकम बराबरको सहयोग नेपालमा भित्रिसकेको छ भने सयौँ नेपालीले अमेरिकामा गुहार पाएका छन् ।

गत बर्ष ओक्लोहोमामा अध्ययनरत युवती निशा कार्कीको निधन भयो । कार्की परिवारकी एक्ली सन्तान थिइन् । उनी जन्मेको केही समयमै उनका पिता स्वर्गे भएका थिए । एक्ली सन्तान गुमाउँदा निशाकी आमाको होशहवास थिएन । निशा टेक्सास निवासी नभएपनि लामिछानेले सहयोगका लागि सबैलाई आग्रह गरे । ओक्लोहोमासम्म पुगेर शब नेपाल पठाउने जोहो गरे । केही समयपछि झण्डै पत्तालिस लाख रुपैयाँ लिएर नेपाल आए र निशाकी आमालाई हस्तान्तरण गरे ।

निशाकी आमाको सहयोगार्थ अभियान चलाइरहँदा लामिछाने स्वंय पीडामा थिए । अमेरिकाको प्रतिष्ठित प्रयोगशाला एवीसीमा कार्यरत भाइ किरण क्यालिफोर्नियामा गाडीको ठक्करबाट बितेको धेरै भएको थिएन । परिवारका मात्र नभइ नेपालकै दुर्लभ प्रतिभाका रुपमा रहेका किरणको निधनबाट बिक्षिप्त कृष्णले भाइको पीडालाई मल्हम लगाउन अझ बढी सेवामा लागेको बताउछन् ।

काठमाडौँ ठमेलमा निशाको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रम थियो । मन्त्री दीपक गिरी प्रमुख अतिथि थिए । गिरीका सामू लामिछाने भक्कानिएः अमेरिकामा नेपाली मर्दासमेत राजदूतले सहानुभुतिसमेत व्यक्त गर्दैनन्, मेरो भाइको मृत्युबारे संसदमा कुरा उठ्यो तर अमेरिकामा रहेका राजदुतले सायदै थाहा पाए । उनले विदेशमा रहेका नेपालीको साझा पीडा व्यक्त गर्दा हलमा सन्नाटा छाएको थियो ।

नेपालीको जनसंख्या बढेसँगै अमेरिकामा नेपालीलाई पर्ने दुर्घटनाको संख्या पनि बढेको छ । निशाजस्तै कैयौँले ज्यान गुमाएका छन् । जुनसुकै राज्यमा नेपाली विपतमा पर्दा लामिछाने सहयोगकालाई अग्रसर हुँदै आएका छन् । पछिल्लो समय अमेरिकामा ज्यान गुमाउनेका परिवार, दुर्घटनामा परेका जन र पीडामा परेका नेपालीका लागि सहयोग संकलन गर्ने संस्कृतिको विकास भएको छ । एकै रातमा लाखौँ रुपैयाँ संकलन हुन थालेको छ । यो संस्कृति निर्माणमा लामिछानेले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताइन्छ ।

नेपाली समाज टेक्सासले टेक्सासमा नेपाली पाठशाला र मन्दिर निर्माण गरेको छ । समाजको पहलमा नेपाली चाडपर्बमा सामुहिक कार्यक्रम हुने गरेका छन् । अमेरिका रहेका नेपालीलाई नेपालीपन दिलाउन र नयाँ पीँढीलाई नेपाली संस्कृति सिकाउन यस्ता गतिविधि उपयोगी रहेको लामिछानेको दाबी छ । समाजले गर्ने सांस्कृतिक कार्यक्रममा सयौँ नेपाली बालबालिका सहभागी हुने गरेका छन् । नेपाली बोल्न नजान्ने नेपाली बालबालिकालाई भाषा शिक्षणदेखि योगसाधनासम्म सिकाइएको छ । सोको प्रभाव अमेरिकाका अन्य राज्यका नेपाली समुदायमा समेत परेको छ । अमेरिकाभर नेपाली पाठशाला खोल्ने, मन्दिर बनाउने र सामुहिक चाडबाडका कार्यक्रम गर्ने लहर चलेको छ ।

दुई दशक पहिले अमेरिका पुगेका लामिछाने संघर्षकै बलमा स्थापित भएका हुन् । प्रारम्भमा पेट्रोल पम्पमा काम गर्थे उनी । अहिले सफल व्यवसायीका रुपमा चिनिन्छन् । लामिछाने विगत सम्झदै भन्छन्, ‘एक्लो हुँदाको पीडा मैले ब्योहोरेको छु । पर्दाको पीडा कस्तो हुन्छ मैले भोगेको छु । त्यसैले पनि म सधैँ नेपालीको सेवामा तयार रहन्छु ।’

२०७२ सालमा नेपालमा भूकम्प गएसँगै लामिछानेले नेपालमा सहयोग अभियानलाई विस्तार गरेका छन् । उनको पहलमा भूकम्प प्रभावित विभिन्न जिल्लामा सामुदायिक विद्यालय निर्माण भइरहेको छ । स्थानीय समुदाय, अमेरिकामा रहेको प्रस्तावक नेपाली र नेपाली समाज टेक्सासको त्रिपक्षीय साझेदारीमा विद्यालय निर्माण गर्ने विधि बसालिएको छ । लामिछाने स्वंय प्रस्तावक बसी गोरखामा विद्यालय निर्माण भइरहेको छ ।

लामिछानेका अनुसार भूकम्प पछि करोडौँको सहयोग नेपाल पठाइएको छ । त्यसअघि बर्दिया, सिन्धुपाल्चोकलगायतका बाढी तथा पहिरो प्रभावित क्षेत्रका बासिन्दाका लागि लाखौँ सहयोग पठाइएको थियो ।

लमिछाने भविश्यमा नेपालमा स्थायी ढंगले समाज सेवा थाल्ने सोचमा छन् । सोका लागि पूर्वाधार निर्माणमा जुटेका छन् । असाह वृद्धवृद्धालाई केन्द्रीत सेवा गर्न चाहेको लामिछानेको भनाइ छ ।

पछिल्लो समय कृष्ण गैरआवसीय नेपाली संघको निर्वाचनका कारण थप चर्चामा छन् । बोर्ड अफ डाइरेक्टरको उम्मेदवार रहेका कृष्ण सम्भवतः सबैभन्दा बढी चिनिएका उम्मेदवार हुन् । चुनावी दौडमा मुख्य पदका उम्मेदवारभन्दा उनैको बढी चर्चा हुने गरेको छ । धेरैले भन्ने गरेका छन्ः एउटा मान्छेको मायाले कति फरक पार्दछ अमेरिकामा भन्ने पुष्टि लामिछानेले गरेका छन् ।

विशेष