उद्धार र राहतका लागि शिव सेना परिचालन गर्ने घोषणा
काठमाडौं । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले अतिवृष्टि, डुबान, बाढी र पहिरो जस्ता प्राकृतिक विपद्विरुद्ध सरकार प्रभावकारी रुपमा उत्रिन नसकेको भन्दै आफ्ना शिव सेना परिचालन गर्ने घोषणा गरेका छन् ।
राष्ट्रलाई संकट पर्दा कसैले मागेर नभइ आफै बुझेर जनसेवामा खटिएको विगत स्मरण गर्दै अध्यक्ष बस्नेतले शिव सेना नेपालको भातृ संगठन ओम रक्षा बाहिनी परिचालन भएको जानकारी दिए । उनले भने, ‘यो राष्ट्रलाई संकट पर्दा आजसम्म शिवका सेनाहरु मौन बस्न सकेनन । आज पनि तराई डुबेको छ, पहाडमा पहिरो गएको छ । यस्तो अवस्थामा हामी चुप लागेर बस्न सक्दैनौं । हामीले भोलेनाथका सेना परिचालन गरिसकेका छौं ।’
शिव सेना नेपालका कार्यकर्ताहरुले भारतले नाकाबन्दी गर्दा काठमाडौंमा निःशुल्क भोजनको व्यवस्था गरेर नाकाबन्दीको प्रतिकार गरेको थियो । भूकम्पले मुलुक जर्जर पार्दा पनि शिव सेना राहत र उद्धारका लागि भूकम्प प्रभावित क्षेत्रमा पुगेको थियो । अध्यक्ष बस्नेत भन्छन्, ‘आज मुलुक राष्ट्रघाती सम्झौताहरुको सिकार भएको छ । आफ्नो भूमिमा बनेको पुलको चाबी विदेशीसँग छ । नेपालमा पानी जलमग्न हुँदा ढोका खोल्न विदेशीलाई भन्नु पर्ने अवस्था छ । देश बेच्ने, राष्ट्रघाती सम्झौता गर्ने कसाईहरु विरुद्ध पनि हामी उभिने छौं । तर तत्कालका लागि हाम्रो देशका नागरिक अहिले दुःखमा छन् । यो दुःखबाट पार लगाउन हामी प्रयत्नशील छौं ।’
शिव सेना नेपालको ओम रक्षा बाहिनीले जनकपुर, लाहानलगायत क्षेत्रमा उद्धार, राहत आदिको काम प्रारम्भ गरिसकेको छ । सरकारमा बसेकाहरु सधै आफ्नो हितमा लिप्त हुँदा जनताले दुःख पाउने, प्राकृतिक प्रकोपको बेला पनि समयमा राहत नपाउने समस्या भएका कारण यस्तो विकृतिविरुद्ध भण्डाफोर अभियान पनि सञ्चालन हुने अध्यक्ष बस्नेतले बताए । उनले भने, ‘हामीले पहिले देखि नै भन्दै आएको कुरा हो कि यो व्यवस्थाले, यो संरचनाले मुलुक जोगिदैन । हामी अहिलेका नेता, यो सरकार मात्रै होइन व्यवस्था नै फाल्नु पर्छ भन्ने पक्षमा छौं । अर्बौ रुपैयाँको घोटाला गर्ने ससम्मान मुक्त हुने, राष्ट्रवादीहरु भने जेल जानु पर्ने अवस्था फेर्नैै पर्छ ।’
अध्यक्ष बस्नेतले राष्ट्रलाई आइ परेको अहिलेको समस्याबाट पार पाउनका लागि सबैले आआफ्नो क्षेत्रबाट प्रयास गर्नु पर्ने बताए । उनले भने, ‘जनताको सुख दुःखमा साथ दिन शिव सेना सधै तयार छ । तर अहिले एकै पटक लाखौ जनतालाई समस्या परेको छ । सबै जनतासम्म हामी पुग्न नसकौंला । यस्तोमा एकले अर्को नेपाली दाजुभाईलाई सहयोग गरौं । यसरी नै हाम्रो राष्ट्रिय एकता मजबुत हुनेछ । हिजो पहाडमा भैचालो जाँदा तराईका जनताले चामल बोकेर पहाड चढे । आज तराई डुब्दा हामी जो जहाँ भए पनि तराईमा सहयोगका लागि पुग्नु पर्छ । किनभने यहि नै हाम्रो नेपाल र हामी नेपालीको विशेषता ।’